Skip to main content

नेपाल पुलिसले प्रथम महिला गोल्डकप उपाधि जित्यो, आर्मीलाई टाइब्रेकरमा पराजित

नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै उपाधि जितेको छ। पुलिसले उपाधिसँगै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ३ लाख रुपैयाँ पाएको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो र पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भएकी छिन्।

२० वैशाख, काठमाडौं। नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। आरएस पोखरा फुटबल क्लबको आयोजना गरेको पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमात्र भएका त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो। पोखरामै पहिलो पटक आयोजित महिला गोल्डकपको उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आर्मीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा स्थगित भएको थियो। पहिलो हाफमै १० खेलाडीमा सिमित भएको आर्मीले पुलिसलाई गोलरहित बराबरीमै रोक्यो। पहिलो हाफको २७औं मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएको थियो। पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डीबक्स नजिक लडाएपछि रातो कार्ड पाएर खेल बाहिरिएकी थिइन्। ३७औं मिनेटमा आर्मीको आक्रमणमा पुलिसकी समिक्षा घिमिरेले महत्वपूर्ण बचाउ गरिन्।

विधागत पुरस्कारहरुमा पनि पुलिसले कब्जा जमायो। पुलिसकी निर्मला विकलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरियो र उनलाई ३० हजार रुपैयाँ प्रदान गरियो। उत्कृष्ट गोलरक्षकको पुरस्कार पुलिसकी उषा नाथले जितिन्। रेखा पौडेलले सर्वाधिक गोल गर्ने खेलाडीको उपाधि हात पारिन्। उनले प्रतियोगितामा कुल पाँच गोल गरिन्, जसमा पहिलो खेलमा आयोजक विरुद्ध पाँच गोल समावेश छ। अनुशासित टिमको पुरस्कार आरएस पोखराले पायो। तीन दिनसम्म चलेको प्रतियोगितामा चार टिम सहभागि थिए।