Skip to main content

रास्वपा सांसद खनालले कृषिका लागि एम्बुलेन्सको आवश्यकता औँल्याए

रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने आवाज उठाएका छन्, जसले किसानहरूको उब्जिएको बाली समयमै बजारसम्म पुर्‍याउन सहयोग पुर्‍याउनेछ। उनले कृषि एम्बुलेन्सलाई कृषिको आईसीयूमा आवश्यक अक्सिजनको रूपमा व्याख्या गर्दै आगामी आर्थिक वर्षमै यसको सुरुवातको आवश्यकता औँल्याए।

सांसद खनालले बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा भने, “जसरी मानिस बिरामी हुँदा एम्बुलेन्स आउँछ, त्यस्तै किसानको खेलमा उब्जिएको बाली पनि बिरामी अवस्था हुँदा एम्बुलेन्स आउँनै पर्छ।” उनले थपे, “नेपाल पाल्ने गाडी करोडौंको हुन्छन्, तर देश पाल्ने कृषकलाई पाँच सात लाख पर्ने कृषि एम्बुलेन्स दिन नसक्ने हो भने कृषिका मुख्य विषयहरूमा के उपलब्धि हुन्छ?”

उनले माटो परीक्षणको महत्वसमेत औँल्याए र किसानहरूले सडकमा आफ्ना उत्पादन फ्याँकिरहँदा उपभोक्ताले महँगो मूल्य तिर्न पुग्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए। खनालले भने, “यसले बिचौलियाहरूको सेटिङ तोड्न र किसानको पसिनालाई नगदमा परिणत गर्न कृषि एम्बुलेन्स अत्यावश्यक छ।” उनले नेपालमा उत्पादित फलफूल र तरकारीको करिब २० देखि ३५ प्रतिशत हिस्सा उचित ढुवानी र भण्डारणको अभावले बजारसम्म नपुग्दै नष्ट हुने गरेको विषयमा ध्यानाकर्षण गराए।