
नेपाल ‘ए’ टिमले अमेरिकासँगको अभ्यास खेलमा ३ विकेटको रोमाञ्चक जित प्राप्त गरेको छ। मुलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ७ विकेट गुमाएर ५ बल बाँकी छँदै पूरा गर्यो। नेपालका लागि मायन यादवले सर्वाधिक ७२ रन बनाएका थिए। उनले ८० बलमा ४ चौका र २ छक्का प्रहार गरे। तिर्थ दास २३, अनिलकुमार यादव २७, देव खनाल १७, सन्दीप जोरा ३७, कुशल मल्ल ३३ र बसिर अहमद १८ रनमा आउट भए। पवन सर्राफ २४ र दीपक डुम्रे २ रनमा अविजित रहे।
बलिङमा अमेरिकाका लागि मिलिन्द कुमारले २ विकेट लिए भने सञ्जय कृष्णमूर्ति, हर्मित सिंह, रुशिल उगर्कर, नोस्थुस केन्जिग र शौरभ नेत्रवल्करले एकएक विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। अमेरिकाका ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए। जसदीप सिंह ३३ तथा हर्मित सिंह २५ रनमा नटआउट रहे। कप्तान मोनांक पटेलले २० रन जोडेका थिए। नेपाल ‘ए’ का लागि पवन सर्राफले २ विकेट लिए भने शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एकएक विकेट लिए। नेपाल ‘ए’ ले यसअघि बिहीबार स्कटल्यान्डमाथि पनि विजय प्राप्त गरेको थियो।






