
फिबा एसिया कप २०२९ प्रि-क्वालिफायर्समा नेपाल समूह ए मा परेको छ। समूह ए को खेल युएईको दुबईमा २०८३ भदौ ८ देखि १९ सम्म सञ्चालन हुनेछ। प्रि-क्वालिफायर्सको हरेक समूहबाट शीर्ष तीन टिम दोस्रो चरणमा प्रवेश गर्ने फिबाले जनाएको छ।
२६ वैशाख, काठमाडौं। फिबाले शुक्रबार फिबा एसिया कप प्रि-क्वालिफायरको पहिलो चरणको ड्र सार्वजनिक गरेको हो। फिबा एसिया कप २०२९ क्वालिफायरका खेलहरु २०२६ अगष्टदेखि २०२९ फेब्रुअरीसम्म सञ्चालन हुनेछन्। यस अन्तर्गत फिबा एसिया कप प्रि-क्वालिफायर्स अगष्ट २४ देखि सेप्टेम्बर १ (२०८३ भदौ ८ देखि १९) सम्म एसियाका विभिन्न देशहरूमा सञ्चालन हुनेछ।
प्रि-क्वालिफायर्समा एसिया क्षेत्रका १७ र ओशिया क्षेत्रका १ गरी कुल १८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल रहेको समूह ए मा बहराइन, युएई, कुवेत र ओमान छन्। यस समूहको खेल युएईको दुबईमा हुनेछ। समूह बी मा काजाखस्तान, प्यालेस्टाइन, श्रीलंका, माल्दिभ्स र किर्गिस्तान छन्। समूह सी मा इन्डोनेसिया, मलेसिया र सिंगापुर रहेका छन् भने समूह डी मा थाइल्यान्ड, मंगोलिया, भियतनाम र फिजी रहेका छन्।
फिबाले जानकारी दिएको छ कि प्रि-क्वालिफायर्सका हरेक समूहबाट शीर्ष तीन टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणका छनोट भएका टिमहरू दुई समूहमा विभाजित गरिनेछन्। दुवै समूहमा समान रूपमा ६ टिम रहनेछन्। दुवै समूहबाट शीर्ष ४-४ टिम फिबा एसिया कप २०२९ क्वालिफायर्समा छनोट हुनेछन्। क्वालिफायर्सबाट छनोट भएका उत्कृष्ट ८ टोली र फिबा एसिया कप २०२५ का उत्कृष्ट १६ टोली गरी २४ टोलीको मुख्य छनोट प्रतियोगिता हुनेछ। जसबाट शीर्ष १६ टोली २०२९ मा हुने फिबा एसिया कपमा छनोट हुनेछन्।






