Skip to main content

उपसभामुख ठाकुरले प्रधानन्यायाधीशको सिफारिस कार्यक्षमतामा आधारित रहेको बताइन

२६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीशको सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी गरेकी छन्। शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यस विषयमा कुनै किन्तु–परन्तुको आवश्यकता नरहेको स्पष्ट पारिन। ‘न्याय प्रणालीबारे जनता लामो समयदेखि गुनासो गरिरहेका छन्– मुद्दा यति वर्ष लाग्यो, त्यत्ति वर्ष लाग्यो भनेर,’ उपसभामुख ठाकुरले बताइन्। ‘एउटा मुद्दाको निर्णयमा अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर समस्या हो।’

उनी भन्छिन्, जब नियुक्ति कार्यक्षमता र योग्यताभन्दा दल वा पार्टीको आधारमा गरिन्छ, तब त्यसले नकारात्मक परिणाम देखाउने सम्भावना बढ्नेछ। ‘प्रधानन्यायाधीशको नियुक्ति कार्यक्षमताको मूल्यांकनको आधारमा गरिएको हो। यस विषयमा कुनै किन्तु–परन्तु आवश्यक छैन,’ उनले लेखेकी छन्। राज्यका सबै अंगहरू देश, जनता र राष्ट्रको हितमा आधारित हुनुपर्ने उनको भनाइ छ। ‘यहाँ कुनैको आदेश–उपदेशभन्दा संविधान, कानुन, र जनहित सर्वोपरि हुनुपर्छ। निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार हो,’ उनले थपिन्।

उनीले आफ्नो फेसबुक स्टाटसमा प्रधानन्यायाधीशका उम्मेदवार न्यायाधीशसम्बन्धी च्याटजीपीटीले तयार पारेको टिप्पणीको स्क्रिनसट पनि समावेश गरेकी छन्।