Skip to main content

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरियो

आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला कभर्डहलमा काभा महिला भलिबल च्याम्पियनसिप आयोजना हुँदैछ। नेपाल भलिबल संघले आइतबार ट्रफी सार्वजनिक गरेको छ र प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी हुनेछ। प्रतियोगिताको बजेट २ करोड ५० लाख रहेको छ, जसमा नेपाल सरकारले १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख सहयोग गरेको छ।

२७ वैशाख, काठमाडौं। आगामी जेठ ८ गतेदेखि काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै औपचारिक रूपमा ट्रफी अनावरण गरेको हो। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेल, राष्ट्रिय खेलकुद परिषद् आर्थिक शाखा प्रमुख ऋषिराम पोखरेल लगायतले ट्रफी अनावरण गरे।

च्याम्पियनसिपमा नेपालसहित ८ टोली सहभागी हुनेछन्। भलिबल संघका महासचिव रोशन श्रेष्ठले नेपालको भलिबल दिवसकै दिन प्रतियोगिता सुरु हुनु सुखद संयोग भएको बताए। उनले भने, ‘जेठ ८ गते नेपाल भलिबल डे हामीले यसअघि विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएका छौँ। यस पटक संयोगवश काभा महिला भलिबल च्याम्पियनसिप त्यही दिन सुरु हुँदैछ।’

प्रतियोगिताका लागि २० खेलाडी समेटेर तयारी सुरु गरिएको र अहिले १६ जना प्रशिक्षणमा रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिएका छन्। यो प्रतियोगिता एफआईभीबी वर्ल्ड वरियताको प्रतियोगिता भएकोले नेपालले उत्कृष्ट नतिजा ल्याउन सके महिला टोलीको वरियता माथि जाने विश्वास भलिबल संघले व्यक्त गरेको छ। च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हिमालयन स्पोर्ट्सले गर्नेछ।