सन्दीप जोराको शतकीय पारीमा नेपाल ए को अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल

नेपाल ए ले अमेरिकाविरुद्ध दोस्रो अभ्यास खेलमा ४९.५ ओभरमा २६४ रनमा अलआउट भएको छ। सन्दीप जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए। अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन दिएर ३ विकेट लिए। २८ वैशाख, काठमाडौं।
सन्दीप जोराको शतकीय पारीको मद्दतमा नेपाल ए ले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ अवसर पाएको नेपाल ए टोली ४९.५ ओभरमा २६४ रनमा अलआउट भयो। सन्दीपको साथमा बसिर अहमदले ३८, मयन यादवले २४ तथा पवन सर्राफले २० रन बनाए। नेपाल ९७-४ को स्थितिमा हुँदा सन्दीप र बसिरले ९९ रनको साझेदारी गरे।
अमेरिकी टोलीका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन मात्र दिएर ३ विकेट लिए। जसदीप सिंह, शुभम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगारकरले १-१ विकेट हासिल गरे। नेपालले यसअघि स्कटल्यान्डसँगको दुवै अभ्यास खेल जितिसकेको छ भने अमेरिकालाई पनि पहिलो अभ्यास खेलमा हराएको थियो।
तस्वीरहरू : विकास श्रेष्ठ






