Skip to main content

अष्टलक्ष्मी शाक्यको सुझाव: ओलीले सम्मानसाथ अध्यक्ष पदबाट बिदा लिनुपर्छ

९ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानसाथ अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रकाशन गरेको स्टाटसमा नेतृ शाक्यले ओलीको घमण्ड, दम्भ र गुटगत सोचका कारण पार्टी कमजोर अवस्थामा पुगेको भन्दै नेतृत्वको पुस्तान्तरण गर्न जोडदार माग गरेकी छन्। अध्यक्ष ओलीले तीन कार्यकालसम्म नेतृत्व गरिसकेको स्मरण गर्दै उनले अब युवा पुस्तामा विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्।

‘सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भएर बस्ने तपाईंको सोच गलत छ,’ शाक्यले ओलीलाई लक्षित गर्दै लेखेकी छन्, ‘कमरेडले यही बैठकबाट सम्मानसाथ अध्यक्ष पदबाट बिदा लिनु उपयुक्त हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको पार्टी फेरि उठाउन सकिन्छ।’ निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर अवस्थामा पुगेको भन्दै उनले ओलीको कार्यशैलीप्रति कडा आलोचना गरेकी छन्।

नेतृ शाक्यले एमाले लाखौं कार्यकर्ताहरूको त्याग, संघर्ष र बलिदानको रगतले जन्मिएको पार्टी भएको बताउँदै यस पार्टीलाई व्यक्तिको पेवा वा गुटको कम्पनी नठान्न चेतावनी दिइन्। उनले आजको एक्काइसौं शताब्दीमा पार्टी सञ्चालनका लागि विचार, सामूहिकता, संघर्ष र इमानदारी आवश्यक रहेको स्पष्ट पारेकी छन्।

व्यक्तिको गुणगान र चाकरीमा समय खर्च गर्नुभन्दा देश र जनताको हितमा निस्वार्थ भावनाका साथ काम गर्ने समय आएको उनको भनाइ छ। कार्यकर्ताको भावना बुझेर ओलीले पार्टीलाई बन्धक नबनाउनुपर्ने उनको निष्कर्ष छ।