Skip to main content

खोटाङमा बाँदर नियन्त्रणका लागि छैठ महिना हेरालु राख्ने सुझाव

१४ जेठ, खोटाङ । ‘अहिलेका लागि हरेक वडामा दुईदेखि पाँच/छ जना कृषक प्रहरी वा कृषक सेना राखेर बाँदर धपाउन सकिन्छ। किसानहरूले खेतबारीमा बाँदर आएको सूचना दिएर सहयोग गर्न सक्छन्,’ नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले भने। कृषि बालीमा क्षति पुर्याउने जंगली जनावर नियन्त्रण गर्ने उपाय खोज्न खोटाङ जिल्ला समन्वय समितिले जेठ १३ गते किसानहरूसँग अन्तरक्रिया आयोजन गरेको थियो। सो कार्यक्रममा सहभागी आचार्यले बाँदर नियन्त्रण सम्बन्धी आफ्नो धारणा राखेका थिए।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा किसान, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, कृषि सम्बन्धित कार्यालय र राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको थियो। सहभागी ध्यानबहादुर राईले बाँदर धपाउन निश्चित तलबसहित वर्षको छैठ महिना हेरालु राख्न सकिने सुझाव दिएका थिए। बाँदर लगायत जंगली जनावर धपाउन हेरालु राख्न सहमत किसान झमप्रसाद आचार्यले वडा–वडामा बाली संरक्षण समिति गठन गरी स्थानीय सरकारमार्फत हेरालु व्यवस्थापन गर्न सुझाव दिएका छन्। उनले हेरालु मार्फत बाँदरको निगरानी गर्दै बालीनाली नजिक आएमा खेदाउन सकिने विकल्प अघि सारेका छन्।

किसान उद्धवप्रसाद आचार्यको धारणा पनि यस्तै छ। बाँदर धपाउन नगरपालिका, गाउँपालिका वा वडा कार्यालयले हेरालु राख्न सके किसानले राहत पाउने उनको विश्वास छ। राज्यले लगानी गरे बाँदर नियन्त्रण सम्भव हुने उनको भनाइ छ। अन्तरक्रियामा सहभागी किसानहरूले बाँदर धपाउने हेरालु व्यवस्थापनदेखि बाँदर नखाने प्रजातीका अन्नबाली रोप्ने, बाँदरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गर्ने, अन्यत्र सार्ने र आवश्यक परे मार्नेसम्मका विषयमा छलफल गरेका थिए। सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष मोहन गुरुङले बाँदर नियन्त्रणका लागि परम्परागत ज्ञान र सीप अपनाउनुपर्ने सुझाव दिए। उनले सरकारले प्रत्येक तीन बर्षमा चैत महिनामा एकपटक राष्ट्रिय स्तरमा बाँदर खेद्ने अभियान सञ्चालन गरे बाँदर नियन्त्रण सम्भव हुने बताए। बाँदरले किसानलाई समस्यामा पारेको छ, तर बाँदर नियन्त्रणका लागि अहिलेसम्म पूर्ण उपाय फेला लागेको छैन। बाँदर लगायतका जंगली जनावरले पुर्याउने क्षतिको न्यूनिकरण गर्ने उपाय खोज्न र अनुसन्धान गर्न जारी रहेको छ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए।