Skip to main content

पूर्वाधार सचिवको निर्देशन: बीपी राजमार्ग पुनर्निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्ने

बाढीले क्षतिग्रस्त भएको बीपी राजमार्गको पुनर्निर्माण कार्य जापान सरकारको सहयोग र नेपालको लगानीमा तीव्र गतिमा अघि बढिरहेको छ। जापानले २ अर्ब ८० करोड येन अनुदान दिने र नेपाल सरकारले ८ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको छ। पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देलले पुनर्निर्माण भइरहेका सडकहरूमा अनुगमन गर्दै निर्माण व्यवसायीहरूलाई काम समयमै सक्न निर्देशन दिएका छन्।

आठ महिनाअघि बाढीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले दुई दिनअघि शिलन्यास गरेका सो सडक पुनर्निर्माणले गति पाएको छ। यस राजमार्गको पुनर्निर्माण जापानको सहयोगमा भइरहेको हो।

गत वर्षको बाढी पहिरोले क्षतिग्रस्त ३० किलोमिटर सडक खण्डमा काम भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा सडक स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ। जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा पिप्ले–बर्खेखोला खण्डको ३.२ किलोमिटर सडक सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारले अन्य तीन खण्डका लागि ८ अर्ब ५० करोड रुपैयाँ लगानी स्रोत सुनिश्चित गरेको छ।

पुनर्निर्माणसँगै यो राजमार्ग दुई लेनको हुनेछ। पाँच वटा पुललाई पनि दुई लेनमा रूपान्तरण गरिनेछ। बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि आरसीसी पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तेज गरिएको छ। आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले बीपी राजमार्गलाई पहिलेभन्दा सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिन्छ। २०५३ सालदेखि जापानको सहयोगमा सुरु भएको यो राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।