Skip to main content

संघीय संसदमा आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतीकरण हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नेछन्। नेपालमा प्रत्येक वर्ष १५ जेठमा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अवलम्बन गरिन्छ। यस वर्ष सरकारले तोकिएको सीमाभन्दा ठूलो र मध्यमवर्गका लागि विशेष रूपमा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ।

अर्थ मन्त्रालयका अनुसार आज अपराह्न ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ। झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने कुरामा सबैको चासो छ। बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने अपेक्षा छ।

सरकारले बजेट ल्याउनुअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ। यही वैशाख २८ गते सरकारले संघीय संसदमा आफ्नो नीति तथा कार्यक्रम पेश गरेको थियो। अर्थ मन्त्रालयका स्रोतले यस वर्ष तोकिएको आकारभन्दा ठूलो बजेट आउने जानकारी दिएका छन्। बजेट विशेषगरी मध्यमवर्गलाई केन्द्रित गरी ल्याउने सरकारको तयारी छ।