Skip to main content

कम्युनिष्ट शक्तिहरूको एकता अपरिहार्य: माधव नेपाल

१६ जेठ, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकका विभाजित कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गराउन आवश्यक रहेको बताएका छन्। शनिबार यहाँ आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको उल्लेख गरे।

नेपाली कम्युनिष्ट आन्दोलनका ऐतिहासिक पक्षहरूको समीक्षा गर्दै, माधवकुमार नेपालले सैद्धान्तिक मतभेद, व्यक्तिगत द्वन्द्व र सत्ता समीकरणका कारण कम्युनिष्ट घटकहरूबीच कहिलेकाहीं विभाजन आउने गरेको बताए। उनले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट सिक्दै सबैले एकताबद्ध हुनुपर्ने आवश्यकताको जोड दिए।

सहसंयोजक नेपालले पार्टी एकता महाधिवेशनअघि वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनहरूलाई भेला गरी अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्। –रासस