
नाटक लुसिफर राइजिङका लेखक तथा निर्देशक सहलेशलाई निर्माण पक्षले गम्भीर अनुशासन उल्लङ्घनको आरोपमा बर्खास्त गरेको छ। १७ जेठ, काठमाडौं। थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक लुसिफर राइजिङका लेखक तथा निर्देशक सहलेशलाई नाटकबाट हटाइएको छ। निर्माण पक्ष ‘मझुवा बगर जनकला मञ्च’ले शनिबार विज्ञप्ति जारी गर्दै उनलाई संस्थाको जिम्मेवारीबाट निलम्बन गर्दै भविष्यका कुनै पनि परियोजनामा सहभागी हुन नपाउने गरी पूर्णप्रतिबन्ध लगाएको हो।
गत जेठ १ गतेदेखि मञ्चन सुरु भएको यस नाटकका निर्देशक सहलेशमाथि संस्थाको मूल मर्मविपरीत काम गरेको र गम्भीर अनुशासन उल्लङ्घन गरेको आरोप लागेको छ। उनीले संस्थालाई उपलब्ध गराइएको आधिकारिक स्क्रिप्टभन्दा बाहिर गएर नाटकमा अनावश्यक थपघट गरेको र अत्यधिक अश्लील शब्दहरूको प्रयोग गरेको आरोप पनि लगाइएको छ। यति मात्र होइन, निर्देशकले सरकार विरुद्ध अनावश्यक अफवाह फैलाएको र आफूलाई सुरक्षा खतरा आएको दाबी गर्दा पनि त्यसको कुनै ठोस प्रमाण पेश गर्न नसकेको निर्माण पक्षले उल्लेख गरेको छ।
संस्थाको आधिकारिक सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक विज्ञप्ति जारी गरेको तथा समग्र नाट्य जगतकै अपमान हुनेगरी गतिविधि सञ्चालन गरेको कारण उनलाई तत्कालै पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। नाटकको अन्त्यमा कालो भादागाउँले टोपी र कालो चश्मा लगाएको नयाँ पात्रलाई अनपेक्षित रूपमा प्रवेश गराउनुलाई पनि संस्थाले बर्खास्तको एउटा कारण मानेको छ। निर्देशकको बर्खास्तीसँगै केही दिन अन्योलमा परेको नाटक भोलि जेठ १७ गतेदेखि पुनः मञ्चन हुने भएको छ। अब यस नाटकको नेतृत्व कलाकार बुद्धिराम चौधरीले गर्नेछन्। नयाँ स्वरूपमा मञ्चन हुन लागेको यस नाटकको नाम अब ‘लुसिफर राइजिङ २.०: ए जेन-जी प्ले’ राखिएको छ। बर्खास्तीबारे सहलेशसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।






