
एसीसी महिला प्रिमिअर कप बिहीबार सम्पन्न भुटानविरुद्धको खेलमा दुर्लभ घटना घटेको छ। नेपाली महिला टोलीले ‘टाइम्ड आउट’ को अपील गरेपछि भुटानकी खेलाडी रिट्सी यसरी दुर्लभ तरिकाले आउट भएकी छिन्। यसरी रिट्सी ‘टाइम्ड आउट’ को शिकार हुने विश्व क्रिकेटकै तेस्रो खेलाडी बनेकी छिन्। ‘टाइम्ड आउट’ नियम अनुसार, एक खेलाडी आउट भएपछि कुनै विशेष वा प्राविधिक कारणबाहेक ९० सेकेन्डभित्र अर्को खेलाडी क्रीजमा उपस्थित हुनुपर्छ। यदि तोकिएको समयमा नयाँ खेलाडी क्रीजमा नआएमा विपक्षी टोलीले अम्पायर समक्ष ‘टाइम्ड आउट’ को अपिल गर्न सक्छ। विपक्षी टोलीको अपिलमा त्यो खेलाडी आउट हुन्छ। रिट्सीले क्रीजमा आउन ढिलाइ गरिन्, नेपालले अपिल गर्यो र उनलाई आउट गराइयो।
नेपालले पहिले ब्याटिङ रोजेर ११३ रन बनाएको थियो। भुटानको दोस्रो इनिङमा ओपनर नगवान छोडेनलाई कविता कुँवरले पहिलो बलमै बोल्ड गरिन्। भुटानी खेलाडीहरूलाई आफ्नो पहिलो बलमै आउट हुने आशा थिएन। अर्को खेलाडी रिट्सीले प्याड लगाउन ढिलाइ गरिन्, जसको फाइदा नेपाली टोलीले लियो। यदि नेपालले टाइम्ड आउटको अपिल नगरेको भए विपक्षी खेलाडी आउट हुन्थेनन्। नेपालले यो खेल ५१ रनले सहजै जितेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम्ड आउट हुने पहिलो खेलाडी श्रीलङ्काका एन्जेलो म्याथ्युज हुन्। २०२३ को नोभेम्बरमा भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्का र बाङ्ग्लादेशबीचको खेलमा यस्तो घटना भएको थियो। म्याथ्युजले आफ्नो हेल्मेटको लक बिग्रिएको प्राविधिक समस्याका कारण ढिलाइ भएको बताएका थिए। तर बाङ्ग्लादेशले अपिल गरेपछि उनी आउट भए। अर्को महिना डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएसन टी २० कपमा घाना र सियरालियोनबीचको खेलमा घानाका ब्याट्सम्यान गडफ्रेड बाकिविवे टाइम्ड आउट भएका थिए। यसरी ‘टाइम्ड आउट’ हुने तेस्रो राष्ट्रको रूपमा नेपालले आफूलाई स्थापित गराएको छ। क्रिकेट नियम भए पनि यसरी विपक्षी खेलाडीलाई आउट गर्ने कार्य खेलका भावना विपरीत मानिन्छ। एन्जेलो म्याथ्युजलाई आउट गराएपछि बाङ्ग्लादेश क्रिकेट लामो समयसम्म आलोचित भएको थियो। आइसीसीको नियम अनुसार टी २० क्रिकेटमा ९० सेकेन्ड भित्र र एकदिवसीय खेलमा २ मिनेट भित्र खेलाडीले क्रीजमा आउनुपर्छ, नत्र टाइम्ड आउट नियम लागू हुन्छ।






