Skip to main content

दृष्टिविहीन फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोगमा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २० देखि २५ गतेसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षणमा १२ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका खेलाडीहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष दलबहादुर कार्कीले फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद विकासका लागि आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

ज्ञानेश्वरस्थित प्राइम फुटसलमा दैनिक मध्यान्ह १२ बजे देखि अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा सहभागी खेलाडीहरूले ब्लाइन्ड फोल्डको प्रयोग गर्दै ब्लाइन्ड फुटबलका आधारभूत सीपहरू र खेलसम्बन्धी विभिन्न पक्षहरूमा अभ्यास गरेका थिए। समापन कार्यक्रममा वडा अध्यक्ष दलबहादुर कार्की प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा वडा सदस्य मनोज डंगोल, शर्मिला श्रेष्ठ, वडा सचिव देवराज जोशी लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

प्रशिक्षण समापनको अवसरमा रातो र निलो टोलीबीच मैत्रीपूर्ण खेल पनि आयोजना गरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा निलो टोलीले १–० को जित हासिल गरेको थियो। कार्यक्रमका सबै सहभागी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। अनुशासित खेलाडी सन्देश स्याङ्बोलाई नगद एक हजार रुपैयाँ पुरस्कार दिइएको थियो भने विजयी गोलकर्तालाई पनि एक हजार रुपैयाँसहित सम्मान गरिएको थियो। समापन समारोहमा वडा अध्यक्ष दलबहादुर कार्कीले फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद विकासका लागि वडा सधैं सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्षम नेपालसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।