
पुरुष फिफा विश्वकपका विजेताबारे भविष्यवाणी गर्ने प्रयासले विभिन्न मोडहरू पार गरेको छ। आजकल सुपरकम्प्युटरहरू, फुटबलप्रति गहिरो ज्ञान भएका खेलप्रेमी र तथाकथित दिव्यद्रष्टाहरूबीच यस विषयमा प्रतिष्पर्धा भइरहन्छ। पछिल्लो तीन प्रतियोगिताका विजेताहरूको सही भविष्यवाणी गरेर चर्चामा आएका जर्मन वित्तीय विश्लेषक होखिम क्लिमेन्टले प्रमुख टोलीहरूबीच ठूलो भाग्य र संयोगको भूमिका रहने बताएका छन्। उनले बीबीसी स्पोर्टलाई भने, त्यो दिनको टोलीको ‘फर्म’, रेफ्रीको निर्णय वा बल गोलपोस्टभित्र जान वा बारमा ठोक्किनेजस्ता अवस्था ‘पूर्णरूपमा भविष्यवाणी गर्न सकिन्न।’
तर इतिहास हेर्ने हो भने ट्रफी जित्ने दाउमा रहेका टोलीहरूले केही महत्वपूर्ण पक्षहरू विचार गर्नुपर्ने देखिन्छ। तीमध्ये केही तथ्यहरू आश्चर्यजनक पनि छन्। फुटबलको विश्व महाकुम्भमा हालसम्म सहभागी भएका ८४ टोलीमध्ये जम्मा ८ वटा देशहरू मात्रै उपाधि जित्न सफल भएका छन्। आर्जेन्टिना, ब्राजिल, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, इटली, स्पेन र युरुग्वे यी ८ उपाधिधारी राष्ट्र हुन्। अहिलेसम्म १३ वटा देशहरूले विश्वकपको फाइनल खेलिसकेका छन् जसमा केही टोलीहरू पटकपटक फाइनलसम्म पुगेका छन्। जर्मनीले आठ पटक, ब्राजिलले सात पटक भने आर्जेन्टिना र इटलीले छ-छ पटक विश्वकप फाइनल खेलिसकेका छन्।
नयाँ विश्व विजेता बन्न गार्हो देखिन्छ। पछिल्लो पटक सन् २०१० मा स्पेनले नयाँ विजेता भएर इतिहास रचेको थियो। नेदरल्यान्ड्सले तीन पटक विश्वकपको फाइनल खेलेको छ, तर कहिल्यै उपाधि जित्न सकेको छैन। सन् २०२६ को विश्वकपमा नेदरल्यान्ड्सले जित्ने क्लिमेन्टले भविष्यवाणी गरेका छन्। सन् २००२ मा एशियाबाट दक्षिण कोरिया र सन् २०२२ मा अफ्रिकाबाट मोरक्कोले विश्वकप सेमिफाइनलमा स्थान बनाएका थिए।
सन् २०१४ मा ल्याटिन अमेरिकी भूमिमा विश्वकप उपाधि जित्ने पहिलो युरोपेली टोली जर्मनी बनेको थियो। सन् १९३० मा युरग्वेमा भएको पहिलो फिफा विश्वकपदेखि कतारमा सन् २०२२ मा सम्पन्न विश्वकपसम्म आइपुग्दा, आफ्नो महादेशबाहिर विश्वकप उपाधि जित्नु दुर्लभ विषय बनेको छ। २२ वटा प्रतियोगिता मध्ये केवल छ पटक यो सम्भव भएको देखिन्छ। ब्राजिलले सन् १९५८, १९९४ र २००२ मा, स्पेनले सन् २०१० मा, जर्मनीले सन् २०१४ मा र आर्जेन्टिनाले सन् २०२२ मा आफ्नो महादेशबाहिर उपाधि हात पारेका हुन्।






