सूर्यदर्शन सहकारी ठगी प्रकरणमा महेन्द्र भोटे रिहा, गितेन्द्रबाबु राई अझै फरार छन्

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका एमाले निकट नेता महेन्द्र भोटेले १७ करोड बिगो तिर्ने कबुल गरेपछि पाँच लाख धरौटीमा रिहा भएका छन्। महान्यायाधिवक्ताको स्वीकृतिमा रवि लामिछानेसहितका आरोपितविरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा अदालतबाट फिर्ता भएको छ। सूर्यदर्शनलगायत विभिन्न सहकारी ठगीका प्रमुख व्यक्तिहरूमा गितेन्द्रबाबु राई मलेसियामा रहेको भनिए पनि अझै फरार छन्।
२६ जेठ, काठमाडौं। पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा परेका महेन्द्र भोटे सोमबार रिहा भएका छन्। उनले १७ करोड बिगो रकम तिर्ने स्वीकार गरेपछि पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन्। महेन्द्र भोटे नेकपा एमाले निकट युवा संघका नेता हुन् र गत स्थानीय तह निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए।
मुद्दामा कुल १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई सुनुवाइका लागि माग गरिएको थियो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि पूर्व डीआईजी छविलाल जोशीसम्म यसअघि नै रिहा भइसकेका छन्। पछिल्लो पटक ४ पुसमा रवि लामिछाने रिहा भएका थिए। उनले पनि बिगो वापतको रकम धरौटी बुझाएर रिहा पाएका थिए। सहकारी ठगीमा संलग्न अन्य व्यक्तिहरू धमाधम रिहा भइरहँदा यस प्रकरणको मुख्य नायक गितेन्द्रबाबु राई अझै पनि फरार छन्। उनी पोखराको सूर्यदर्शन सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारी ठगीका मुख्य व्यक्ति रूपमा परिचित छन्। मलेसियामा बसेको आशंकामा २०८१ साल भदौमा नेपाल प्रहरीको टोली मलेसिया पुगेको थियो र त्यतिबेला उनी त्यहीँ रहेको पत्ता लागेको थियो। तर मलेसियाली सरकारलाई कूटनीतिक पत्राचार गर्दा पनि उनलाई नेपाल ल्याउन सकिएको थिएन। प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट उनको रेड नोटिस जारी गरिएको थियो। गितेन्द्रबाबु मलेसियामा सहकारी ठगीबाट प्राप्त रकम एक अर्बभन्दा बढी लगानी गरेर बसेको बताइएको छ।






