Skip to main content

मार्तडी बजार र कर्णाली करिडोर बन्द गरिएको छ

२७ जेठ, बाजुरा। रानीसैन संघर्ष समितिले बाजुराको जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ। समितिका अनुसार, जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएका घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्र बन्द गरिएको हो।

जेठ ५ गते रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कूलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मिनु कुँवर, प्रहरीचौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका थिए।

यस्तै, जेठ २३ गते रानीसैनको लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिकाका एकसयभन्दा बढी व्यक्तिको समूहले गोठमा आगजनी गरेको, घर ध्वस्त पारेको र ३५ परिवारलाई विस्थापित गरेको कुरा हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेले बताए। उक्त घटनाको विरोधस्वरुप बजार र कर्णाली करिडोर सडक बन्द गरिएको उनले जानकारी दिए। रानीसैन घटनामा संलग्न २३ जनालाई पक्राउ गर्नुपर्ने संघर्ष समितिको माग छ।

जीवित घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीय देवराज रावलसहित २३ जना संलग्न भएको भन्दै उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दर्ता भएको छ। तर अहिले सम्म पक्राउ पुर्जी जारी नभएपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा दबाब दिन बजार बन्द गरिएको पनि पाण्डेले जानकारी दिएका छन्।

जेठ ३ गते रानीसैनको लाम्पाटामा अस्थायी प्रहरीचौकी निर्माणका काम सुरु भएपछि हुम्लाबासीले सीमा विवाद निकाल्दै विरोध जनाएका थिए। रानीसैन क्षेत्रमा बहुमूल्य जडीबुटी, संरक्षित वन्यजन्तु जस्तै घोरल, मृग, भालु लगायत जनावरको चोरी शिकारी गरेर चीनको हिल्सा पुर्‍याउने अवैध धन्दा भइरहेको हुँदा लाम्पाटामा बसोबास गर्ने जनजाति समुदायमाथि सांघातिक आक्रमण भएको हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले दाबी गरिन्।

संघर्ष समितिले बुधबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा जेठ ३ र ५ गतेका घटनाका पाँच जना घाइतेको उपचार आवश्यक पर्ने, लाम्पाटा क्षेत्रको नापी नक्सा मालपोत र नापी कार्यालयले सार्वजनिक गर्नुपर्ने माग उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले लाम्पाटामा एक साता अगाडि सचिवस्तरको निर्णयबाट सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (विपिओ) र नेपाल प्रहरीको अस्थायी प्रहरीचौकी स्थापना गरिएको बताएका छन्।