
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। कार्यवाहक राजदूत स्कटले नेपालको साथ दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सुशासनका लागि निरन्तर सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताए। सभामुख अर्यालले नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रियामा रहेको जानकारी दिए। २९ जेठ, काठमाडौं।
कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन्। उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ। भेटका क्रममा सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे।
दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई आत्मसात् र सम्मान गर्दै आएको पनि बताए। आगामी वर्ष नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८० औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले नेपाल-अमेरिका संसदीय मैत्री समूहको पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा समेत नेपाल–अमेरिका मैत्री समूहको पुनर्सक्रियता आवश्यक रहेको उल्लेख गरे। यस्ता मैत्री समूहहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।






