विज्ञापन बोर्डले सामाजिक सञ्जालमा प्रसारित भइरहेका आधारहीन र भ्रामक विज्ञापनहरू तुरुन्त हटाउन निर्देशन दिएको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा रहेका भ्रामक विज्ञापनहरू विरुद्ध कारबाही अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। बोर्डले औषधिजस्तो सामग्रीको आधिकारिक प्रमाणीकरण बिना गरिने भ्रामक प्रचारलाई विज्ञापन ऐनको विपरीत ठहर गरी कारबाही गरिने जानकारी दिएको छ।
विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रसारित भइरहेका आधारहीन र भ्रामक विज्ञापनहरू तुरुन्त हटाउन निर्देशन जारी गरेको छ। यस प्रकारका विज्ञापनहरू बिरुद्ध कारबाही गरिने पनि बोर्डले जनाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा भएका झुटा र भ्रामक विज्ञापनहरुको विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्राण्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीहरूको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यसलाई तुरुन्त रोक्न निर्देशन दिएको छ। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खतिवडाका अनुसार, सामाजिक सञ्जालमार्फत विभिन्न औषधिजन्य सामग्रीहरूको भ्रमपूर्ण प्रचार गरेर सर्वसाधारणलाई मूर्ख बनाउने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग सम्बन्धित मापदण्डहरू उल्लङ्घन गर्ने उजुरीहरू प्राप्त भएका छन्।
बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, मिर्गौलालाई सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने जस्ता दाबी गरिएका औषधिजन्य पदार्थ र समान प्रकृतिका सामग्रीहरूको प्रचार सामाजिक सञ्जालमा तीव्र रूपमा भइरहेको बताएको छ। यस्ता सामग्रीहरूको प्रभावकारिता सम्बन्धी वैज्ञानिक प्रमाण, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरण बिना आकर्षक प्रचार सामग्री तयार गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएको छ।

