झापाको कनकाई नगरपालिका–५ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनकी ५ वर्षीया छोरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी चालककी ४५ वर्षीया आमाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ। ५ असार, विराटनगर।
झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। त्यस्तै, दुर्घटनामा एक जना घाइते भएकी छन्। कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी भान्जी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी दिदी ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन्। उनलाई कनकाई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। *(यसअघि प्रहरीले समिर र हाजिराको सम्बन्ध बाबुछोरी भएको बताएको थियो। यद्यपी उनीहरू मामाभान्जी भएको खुलेपछि सच्याएका छौं–सम्पादक)

