खेलको अनुकूल समय नहुनु र कडा सुरक्षाका कारण काठमाडौं र सौराहाका होटल तथा रेस्टुरेन्टहरूमा यसपालिको विश्वकप फुटबलमा चहलपहल निकै कम रहेको छ। भारतीय पर्यटकको आगमन र रात्रि व्यवसाय सञ्चालन सहज भएका कारण पोखराका स्पोर्ट्स बार र रेस्टुरेन्टहरूमा विश्वकप फुटबलको चहलपहल वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वअनुमति बिना ठूलो पर्दामा खेल प्रदर्शन गर्न रोक लगाएकोले व्यवसायीहरूले विश्वकपका लागि विशेष प्याकेज ल्याउन सकेका छैनन्। ५ असार, काठमाडौं। नेपालमा फिफा विश्वकप फुटबललाई केवल खेलकुद प्रतियोगिता नभई ठूलो उत्सवको रुपमा मनाउने चलन छ। डेढ महिनासम्म चल्ने यस फुटबल खेलप्रति नेपाली समर्थकहरू ‘क्रेजी’ नै देखिन्छन्। उनीहरू त्यो क्रेज यस्तो कि उनीहरू एक्लै टिभी अगाडि बस्नु भन्दा साथीभाइ, इष्टमित्र र परिवारसँग भेट भई रमाइलोसँग खेल हेर्न रुचाउँछन्।
काठमाडौंका तारे तथा सुविधासम्पन्न होटलहरूले आफ्ना लाउन्ज, गार्डेन वा पुलसाइडमा विशाल एलईडी स्क्रिन जडान गरी मिनी रंगशालाको झल्को दिने गर्दछन्। दर्शकहरूको मनोरञ्जन दोब्बर बनाउन यस्ता होटल र ठूला रेस्टुरेन्टहरूले खेल सुरु हुनु अघि लाइभ ब्यान्डको प्रस्तुति, चियर लिडरहरू मार्फत माहोल तताउने र दर्शकलाई झण्डा पेन्ट गरिदिने व्यवस्था मिलाएका हुन्छन्। खानपान अनुभवलाई पनि विश्वकपसँग जोड्न होटल र रेस्टुरेन्टहरूले विशेष मेनु तयार पार्छन् जुन विश्वकपको थिममा आधारित हुन्छ। बियर खरिदमा ‘बकेट अफर’ (एक किन्दा अर्को निःशुल्क वा समूहका लागि छुट), अनलिमिटेड स्न्याक्स सहितको इन्ट्री प्याकेज र ठूलो समूहका लागि विशेष भीआईपी लाउन्ज वा टेबल रिजर्व सुविधा बार र पबहरूले उपलब्ध गराउँछन्।
तर यसवार देशका प्रमुख सहर क्षेत्रका हस्पिटालिटी क्षेत्रमा खासै चहलपहल देखिएको छैन भन्ने व्यवसायीहरूले बताएका छन्। बिहान सबेरै हुने खेलहरूलाई लक्षित गर्दै काठमाडौंका कतिपय रेस्टुरेन्ट र क्याफेहरूले ‘मर्निङ वाच एक्सपिरियन्स’ अन्तर्गत बिहानको कफी, बेकरी र ब्रेकफास्टसँगै विश्वकप हेर्ने विशेष प्याकेज सञ्चालन गर्दै आएका छन्। तर बिहानै म्याच भए पनि त्यहाँ ग्राहक कमै आउने व्यवसायीहरूले बताएका छन्। बुद्धनगरको बागमती करिडोरमा अवस्थित चर्चित ‘रेल स्टेसन क्याफे’ले पनि विश्वकपका लागि विशेष कार्यक्रम नल्याएको छ। क्याफेका सञ्चालक केशव पौडेलले खेल तालिका अनुकूल नभएको र विश्वकपकै लागि छुट्टै स्किम ल्याउन नसकिने बताए।
पोखराका रेस्टुरेन्ट र बारहरूमा चहलपहल बढेको छ। पर्यटन राजधानी पोखरामा ‘इन्डियन सिजन’को कारण होटल, रेस्टुरेन्ट र स्पोर्ट्स बारहरू बढी व्यस्त भेटिन्छन्। भारतबाट गर्मी मौसमको चिसो आनन्द लिन पर्यटकको आगमन राम्रो भइरहेको छ र विश्वकपले युवापुस्तालाई आकर्षित गर्दै रात्रीकालीन व्यवसायमा उत्साह थपिरहेको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)–पोखरा च्याप्टर अध्यक्ष विश्व पौडेलले पोखरामा पनि विश्वकप फुटबलको प्रभाव परेको बताए। यसले विशेषगरी स्पोर्ट्स बार, क्लब र रेस्टुरेन्टहरूलाई फाइदा पुर्याएको छ।
होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले पनि यसपालि होटेल र रेस्टुरेन्टहरूमा विश्वकप लक्षित अफरहरू विगत जस्तो व्यापक नभएको बताए। उनका अनुसार केही व्यवसायीले सीमित अफर ल्याएका भए पनि ठूलो मात्रामा फैलिन नसकेको छ। फिफा विश्वकपकै कारण उत्सवको माहोल भए पनि रात्रिकालीन समय र सुरक्षा संवेदनशीलताले गर्दा नेपालका हस्पिटालिटी क्षेत्रमा यसपालि अफर सीमित र निश्चित दायरामा मात्रै सिमित भएको व्यवसायीहरूले बताएका छन्।

