Skip to main content

नकआउट चरणमा कुन महादेशका कति टोली छन्, राउण्ड अफ ३२ मा को-को प्रतिस्पर्धा गर्नेछन्? (खेल तालिकासहित)

उत्तर अमेरिकाका तीन राष्ट्रमा जारी फिफा विश्वकप २०२६ को समूह चरणको प्रतियोगिता सकिएपछि राउण्ड अफ ३२ को समीकरण तय भएको छ। पहिलो पटक विश्वकपमा ४८ राष्ट्र सहभागी भएका बेला कुल ७२ खेलहरू सम्पन्न भएका छन् र ३२ टोलीहरूले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। सहआयोजक राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडा नकआउट चरणमा प्रवेश गरेका छन् भने पूर्व विजेता उरुग्वे समूह चरणमै बाहिरिएको छ।

१४ असार, काठमाडौं। उत्तर अमेरिकाका तीन राष्ट्र (अमेरिका, मेक्सिको र क्यानडा) मा हुँदै गरेको फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेलपछि नकआउट चरणमा प्रवेश गर्ने ३२ टोलीहरूको सूची तय भएको छ। यस संस्करणमा समूह चरणमा अहिलेसम्मकै सर्वाधिक ७२ खेलहरू आयोजना भएका छन्। समूह चरणपछि, १२ समूहका विजेता र उपविजेताहरू सहित उत्कृष्ट ८ तेस्रो स्थान प्राप्त टोलीहरूले कुल ३२ टिम नकआउट चरणमा प्रवेश गरेका छन्।

नकआउट चरणमा नयाँ थपिएको पहिलो चरणको रूपमा राउण्ड अफ ३२ रहेको छ। साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, पूर्व विजेता ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्डसहित उपाधिको दावेदार पोर्चुगल, नेदरल्यान्ड्स लगायतका टोलीहरू राउण्ड अफ ३२ मा पुगेका छन्। तर दुई पटक विजेता उरुग्वे भने समूह चरणमा बिना जित बाहिरिएको छ। यस विश्वकपमा ४ नयाँ टोलीहरूले डेब्यु गरेका छन् जसमा केप भर्डे मात्र नकआउटमा पुगेको छ भने अन्य तीन टोली समूह चरणमै बाहिरिएका छन्।

महादेश अनुसार चयन भएका टोलीहरू: युरोप: १३, अफ्रिका: ९, दक्षिण अमेरिका: ५, उत्तर अमेरिका: ३, एसिया: २। नकआउट चरणको पहिलो खेल दक्षिण अफ्रिका र सहआयोजक क्यानडाबीच सोमवार बिहान हुनेछ। राउण्ड अफ ३२ मा विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछ भने पराजित टोली तुरुन्तै बाहिरने भएकाले प्रत्येक खेल फाइनलजस्तै महत्वपूर्ण हुनेछन्।