राष्ट्रीय क्रिकेट खेलाडी अर्जुन कुमाललाई दुई वर्षका लागि इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको छ। कन्सलटेन्सीका अध्यक्ष उद्धव बनले नेपाली क्रिकेटसँग सहकार्य गरेर युवा खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्झौता गरिएको जानकारी दिए। सो अवसरमा नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान पुर्याएका क्रिकेटर शरद भेषावकरलाई सम्मान गरिएको छ। १४ असार, काठमाडौं।
अर्जुन कुमाललाई इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्रालिले ब्राण्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ। दुवै पक्षबीच दुई वर्षे सम्झौता भएको छ र आगामी वर्षहरूमा आपसी सहमतिमा यसलाई नवीकरण गर्ने व्यवस्था रहेको छ।
“क्रिकेट हाम्रो सांस्कृतिक पहिचान हो, हामी क्रिकेटबाट टाढा हुन सक्दैनौं। नेपाली क्रिकेटसँग जोडिनका लागि अर्जुन कुमालसँग सम्झौता गरेका छौं। उनी युवा खेलाडी हुन् र अझ उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने वातावरण आवश्यक छ। हाम्रो कम्पनीले युवा लक्षित काम गर्दै आएको छ, त्यसैले अर्जुनसँगको सहकार्यबाट हामी युवा वर्गलाई अझ राम्रोसँग लक्षित गर्न सक्छौं,” उद्धव बनले भने।
यसअघि इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले राष्ट्रिय क्रिकेटर आसिफ शेखसँग पनि सम्झौता गरेको थियो। ओपनिङ ब्याट्सम्यान अर्जुनले नेपाली राष्ट्रिय टोलीबाट हालै डेब्यु गरेका छन् र विश्वकप क्रिकेट लिग २ मा यूएई विरुद्धको खेलबाट राष्ट्रिय टिममा स्थान बनाएका थिए। अर्को खेलमा उनले ओमानविरुद्ध ४८ रन बनाए। उनले नेपाल यू–१९, नेपाल ‘ए’ र राष्ट्रिय टोलीबाट खेल्ने क्रममा धेरै दक्षता प्राप्त गरेका छन्।
दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रन, पाकिस्तानविरुद्ध २१ रन र अफगानिस्तानविरुद्ध ९१ रन बनाए। अर्कोमा मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबिया विरुद्ध १४३ रन बनाएका थिए। पाकिस्तानविरुद्धको एसीसी यू–१९ एसिया कपमा ९१ रन बनाएका थिए।
अर्जुनले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सुदूरपश्चिम रोयल्सबाट खेले र पछिल्लो सिजन पोखरा एभेन्जर्सबाट खेल्दै आएका छन्। घरेलु क्रिकेटमा विशेष गरी प्रधानमन्त्री कपमा उनी रन मेसिनको रूपमा परिचित छन्। लगातार दुई सिजन पीएम कपमा सर्वाधिक रन बनाउँदै विभिन्न पुरस्कार जितिरहेका छन्।
गत वर्षदेखि खेल लयमा सुधार आएपछि २०२५ को संस्करणमा उनले एक शतकसहित कुल ३ लाख ७४ रन बनाउँदै शीर्ष स्थान हासिल गरे। उनले कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई पछि पारे। उक्त संस्करणमा पहिलो पटक एउटै प्रतियोगितामा पाँच सय रन पार गर्ने खेलाडी बनेका छन्। कुल नौ खेलमा दुई शतकसहित ५०४ रन बनाए, जसमा कोशी प्रदेशसँग १२२ र लुम्बिनीसँग अविजित १३२ रन समावेश छन्।
“म जस्ता युवा खेलाडीलाई व्यावसायिक सम्झौताले ठूलो उत्साह र राम्रो खेल्न प्रेरणा दिन्छ। यसले खेलमा फोकस राख्न मद्दत गर्छ। नेपालमा क्रिकेटको वातावरण सुधार हुँदैछ र यस्तो लगानीले नेपाली क्रिकेटलाई बलियो बनाउनेछ भन्ने मेरो विश्वास छ,” अर्जुन कुमालले भने।
त्यसै अवसरमा दुई दशकभन्दा बढी नेपाली क्रिकेटमा योगदान दिएका क्रिकेटर शरद भेषावकरलाई सम्मान दिइएको थियो।
इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। यसको मुख्यालय काठमाडौंको डिल्लीबजारमा रहेको छ भने बानेश्वर, बुटवल र इटहरीमा पनि शाखा छन्। विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई विश्वविद्यालय र कलेज छनोट, कोर्स छनोट मार्गदर्शन, आवेदन प्रक्रिया, अफर लेटर र एडमिसन सहयोग, छात्रवृत्ति सम्बन्धी जानकारी र सहायता जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ।

