Skip to main content

नेपालको मनसुन: भीषण बर्षाको चेतावनी र विपद् रोकथामका लागि तयारी

यस साता मंगलबार र बुधबार कतिपय ठाउँमा भीषण बर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि, विशेष गरी विपद् रोक्नका लागि जोखिमअनुसार जनशक्ति र सामग्री परिचालन गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस वर्ष मनसुन नेपालमा जुन १९ मा प्रवेश गरेको हो। परम्परागत भन्दा छ दिन पछाडि प्रवेश गरेको मनसुन प्रणालीले पर्याप्त बर्षा गराउन नसकेको अवस्थामा विभागले “भारी बर्षा” हुने चेतावनी जारी गरेको छ।

लामो समयसम्म चर्को गर्मीपछि भारी बर्षा हुँदा बाढी, पहिरो जस्ता विपद् निम्तिन सक्ने डर बढेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै विपद्‌सँग जुझ्ने तयारी गरिसकेको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले भने, “कतिपय भूभागमा धेरै भारी बर्षा हुनसक्ने भएकाले हामीले यो सूचना जारी गरेका हौँ।” उनले २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी बर्षा भए ‘धेरै भारी बर्षा’ भनिन्छ भनेका छन्।

विभागले जारी गरेको सूचनाअनुसार असार १६ र १७ गते मनसुनी गतिविधि बढ्ने र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन वा चट्याङसहित ‘भारी बर्षा’ तथा एक-दुई स्थानमा ‘धेरै भारी बर्षा’ हुने सम्भावना छ। पोखरेलले थपिन्, “कतै कतै अचानक बाढी आउन सक्ने भएकाले हामीले सतर्क रहन भनेका छौँ।”

हालको सरकारका गृहमन्त्री सुधन गुरुङले विपद्को प्रतिकार्य सम्बन्धी बारम्बार चासो देखाएका छन्। उनले विगत ११ वर्षदेखि विपद् बेला राहत उद्धारमा खटिएको अनुभव साझेदारी गर्दै यस पटक सरकार चनाखो रहेको बताएका छन्। प्राधिकरणका प्रमुख कार्यकारी तथा सहसचिव प्रदीपकुमार कोइरालाले भने, “हामीले सबै ठाउँमा अलर्ट जारी गरेका छौँ।”

विपद् व्यवस्थापनको तयारीका लागि आवश्यक सामग्रीहरूको भण्डारण अद्यावधिक गरिएको छ र सोमबार दिनभर यस कामलाई जारी राखिने प्राधिकरणले जनाएको छ। यस वर्ष धान रोपाइँको अवस्था पनि चिन्ताजनक रहेको छ, जहाँ कृषि विभागका अनुसार धान रोपाइँ हुने जमिनको क्षेत्रफल घट्दो छ।