नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आगामी सिजनका लागि शरद भेषावकरलाई क्रिकेट निर्देशक तथा मेन्टरको रूपमा नियुक्त गरेको छ। पूर्व राष्ट्रिय खेलाडी शरद भेषावकरको नियुक्तिले टोलीको प्राविधिक र क्रिकेट व्यवस्थापन थप सशक्त हुनेमा गोर्खाज विश्वस्त छ। शरदले आफ्नो अनुभवको उपयोग गरी काठमान्डु गोर्खाजलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन्।
१६ असार, काठमाडौं। पूर्व राष्ट्रिय खेलाडी शरद भेषावकरलाई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले ‘क्रिकेट निर्देशक’ को रूपमा नियुक्त गरेको छ। आगामी सिजनका लागि शरदलाई क्रिकेट निर्देशक तथा मेन्टर बनाइएको हो। शरदले पहिलो संस्करणको एनपीएलमा चितवन राइनोजबाट खेलेका थिए। उनको आगमनले टोलीको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ सशक्त हुने विश्वास टोलीले व्यक्त गरेको छ।
‘हामी प्रत्येक सिजन क्रिकेट व्यवस्थापनमा थप चुस्ती ल्याइरहेका छौं। क्रिकेटमा लामो अनुभव रहेका शरद जस्ता अनुभवी व्यक्तिसँग मिलेर हामी मैदान भित्र र बाहिर दुवै ठाउँमा राम्रो गर्न सक्छौं जस्तो लाग्छ। शरदसँग काम गर्न पाउँदा हामी धेरै उत्साहित छौं,’ गोर्खाजले भने। सन् २००२ मा उमेर समूहमार्फत राष्ट्रिय टोलीमा प्रवेश गरेका शरदले गत वर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।
उनी घरेलु क्रिकेटमा सफल कप्तानका रूपमा परिचित छन् र सशस्त्र प्रहरी बल (एपीएफ) क्रिकेट टोलीको पनि कप्तानी गरिसकेका छन्। शरदले आफ्नो अनुभवलाई उपयोग गरेर गोर्खाजलाई सफल बनाउने भरोसा व्यक्त गरे। ‘फ्रेन्चाइज लिगसँग मेरो अनुभवलाई पूरा सदुपयोग गर्दै काठमान्डु गोर्खाजलाई अगाडि बढाउनेमा म पूर्ण विश्वस्त छु। म आगामी सिजनका लागि अत्यन्त उत्साहित छु र यसलाई ठूलो चुनौतीका रूपमा लिएको छु। म आफ्नो तर्फबाट १०० प्रतिशत योगदान दिँदै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु,’ उनले भने।

