फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने रोमाञ्चक खेलमा पूर्व विजेता स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन्। यस खेलमा स्पेन बलियो टोलीको रूपमा मैदान उत्रने भए तापनि अस्ट्रियालाई कम आँक्ने गल्ती उसले गर्ने छैन। सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीको स्तब्धकारी नतिजा बेहोरे पनि उत्कृष्ट पुनरागमन गर्यो। साउदी अरेबिया विरुद्धको ४–० को शानदार जितमा सुपरस्टार लामिन यामालले १ गोल र १ असिस्ट गर्दै टोलीको लय फर्काए। त्यसपछि स्पेनले उरुग्वेलाई १–० को कठिन संघर्षमा पराजित गर्दै ७ अङ्कका साथ समूह ‘एच’ को विजेता बनेर नकआउटमा स्थान बनाएको हो।
अर्कोतर्फ, अस्ट्रियाको नकआउट सम्मको यात्रा उतारचढावले भरिएको छ। समूह ‘जे’ को पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको अस्ट्रिया दोस्रो खेलमा लियोनेल मेसीको अर्जेन्टिनासँग २–० ले पराजित भयो। समूह चरणको अन्तिम खेलमा अल्जेरिया विरुद्ध इन्जुरी समयको अन्तिम मिनेटमा सासा कालाइजिचले गोल गर्दै ३–३ को बराबरीका साथ अस्ट्रियालाई नाटकीय रूपमा नकआउटमा पुर्याएका हुन्। यस खेलको विजेताले ६ जुलाईमा डलास स्टेडियममा हुने राउन्ड अफ १६ को खेलमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ।
ऐतिहासिक रूपमा, एक बलियो टोली भए तापनि स्पेनले विगत १६ वर्षदेखि विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन। पछिल्ला दुवै संस्करणमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो। उसले नकआउट चरणमा दर्ता गरेको अन्तिम जित भनेकै सन् २०१० को फाइनलमा नेदरल्यान्ड्स विरुद्धको १–० को ऐतिहासिक जित हो। वर्तमान युरोपेली च्याम्पियन स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे आफ्नो युवा स्टार लामिन यामाल पूर्ण रूपमा फिट भएर सुरुवाती ११ मा फर्कने आशामा छन्।
स्पेनका निको विलियम्स र येरेमी पिनो यस खेलका लागि उपलब्ध हुने छैनन्। दुवै चोटका कारण यस खेलबाट बाहिरिएका छन्। भिक्टर मुनोज पनि खेल्ने नखेल्ने द्विविधा छ। यता अस्ट्रियाको भने चोट र खेलाडी उपलब्ध नहुनेबारे हालसम्म भने केही जानकारी आएको छैन। अस्ट्रियाका कप्तान डेभिड अलाबाले भनेका छन्, ‘हामीलाई थाहा छ हामी कस्तो टोलीविरुद्ध खेलदैछौं। स्पेनसँग उच्च गुणस्तरका खेलाडीहरू छन् जसले एक्लै खेलको नतिजा बदल्न सक्छन्। तर हामी डराउने छैनौं। हामीलाई हाम्रो क्षमता थाहा छ र मैदानमा शतप्रतिशत दियौं भने हामी उनीहरूलाई हराउन सक्छौं।’
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अस्ट्रिया आक्रामक टोली भएको र हल्कामा नलिने बताएका छन्। ‘अस्ट्रिया अत्यन्तै आक्रामक, दृढ र बलियो हाइ-प्रेसिङ खेल्ने टोली हो। यो खेल मैदानका हरेक क्षेत्रमा वान-अन-वान भिडन्त जस्तो हुनेछ। हाम्रा खेलाडीहरूको प्रतिभाका साथ हामी बिस्तारै आफ्नो सर्वश्रेष्ठ फुटबल प्रदर्शन गर्नेछौं,’ उनले भने।
सम्भावित सुरुवाती ११
स्पेन: उनाई सिमोन (गोलकिपर); पेड्रो पोरो, पाउ कुबार्सी, अयाम्रिक लापोर्टे, मार्क कुकुरेला; रोड्री, पेड्री; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयार्जाबाल
अस्ट्रिया: अलेक्जेन्डर श्लागर (गोलकिपर); स्टेफान पोश, फिलिप लिनहार्ट, डेभिड अलाबा, कोनराड लाइमर; निकोलस साइवाल्ड, जाभर श्लागर; रोमानो श्मिड, मार्को अर्नाउटोभिच, माइकल साबिट्जर; सासा कालाइजिच
खेल: स्पेन भर्सेस् अस्ट्रिया, राउन्ड अफ ३२
मिति र समय: १९ असार, बिहान १२:४५
स्थान: लस एन्जलस स्टेडियम
प्रत्यक्ष प्रसारण: हिमालय स्पोर्ट्स

