Skip to main content

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

२१ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई टाइटल स्पोन्सरको रूपमा समावेश गरेको छ। एग्रो थाई फुड्स प्रालि द्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स र काठमाडौं गोर्खाजबीच भएको सम्झौताअनुसार टोलीको प्लेइङ जर्सीको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ। यो लगातार दोस्रो वर्ष दुवै पक्षबीच भएको सहकार्य हो। गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमण्ड स्पोन्सरका रूपमा आबद्ध थियो भने यस वर्ष टाइटल स्पोन्सरमा उक्लिएको हो।

काठमाडौं गोर्खाजको व्यवस्थापन गर्दै आएको माभरिक्सका संस्थापक–निर्देशक श्रवणबहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए। उनले भने, ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोड्न सफल भएको छ। अहिलेको अवस्थामा यसको सहभागिताबिना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्न कठिन भइसकेको छ। यस्तो प्रभावशाली र खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं। यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ। यस्ता साझेदारीहरूले टोली व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुर्याउँछन्।’

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिको बजार व्यवस्थापक सोनिया रानाले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता भएकाले काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा कम्पनी उत्साहित रहेको बताइन्। उनले भनिन्, ‘एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं।’ एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुदमा सक्रिय लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट, जय ट्रफी क्रिकेट, फुटबल, भलिबल, म्याराथन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहकार्य गर्दै आएको छ। कम्पनीले खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको प्रेरणा दिने उद्देश्यका साथ आगामी दिनमा पनि खेलकुद क्षेत्रमा आफ्नो सक्रिय सहभागिता निरन्तर रहने जनाएको छ।

यसैबीच, काठमाडौं गोर्खाजले आगामी एनपीएलका लागि पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषावकरलाई क्रिकेट निर्देशक नियुक्त गरिसकेको छ। टोलीको कप्तानी राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले गर्नेछन्। साथै, टोलीले भीम सार्की, शाहब आलम, राशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई रिटेन गरिसकेको छ।