Skip to main content

हालान्डको गोलले नर्वेलाई ब्राजिलविरुद्ध अग्रता

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा जारी खेलमा एर्लिङ हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई १-० को अग्रता दिलाए। २२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा हालान्डको गोलले नर्वेले ब्राजिलविरुद्ध अग्रता पाएको छ। आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन्।

ब्राजिलले पहिलो हाफमा पेनाल्टी अवसर गुमाउँदा अग्रता लिन नसकेको थियो। ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको आरम्भमै पाएको पेनाल्टी प्रहार मिस गरेका थिए। खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाएका थिए। नर्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिएर ब्राजिललाई पेनाल्टी दिएको थियो।

तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए। पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलका पहिलो खेलाडी बने। यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्सविरुद्ध पेनाल्टी मिस गरेका थिए। नर्वेले ब्राजिलसँग अहिलेसम्म खेलेका चार खेलमा अपराजित रहेको छ भने सन् १९९८ को विश्वकपमा भएको एकमात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो।