Skip to main content

उपराष्ट्रपति यादव कतार भ्रमणका लागि प्रस्थान

३० असार, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार अपराह्न कतार प्रस्थान गरेका छन्। कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका हुन्। उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बिदाइ गरेका थिए। सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए।
भ्रमणको क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति यादवसँग नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन्। उनी असार ३२ गते स्वदेश फर्कनेछन्। –रासस