Skip to main content

एनएसएसएफ र हिसानबीच पाँच वर्षे सम्झौतामा विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्ने सहमति

नेपाल स्कुल स्पोर्ट्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच पाँच वर्षे सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौताले देशभरिका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजहरूमा खेलकुदको व्यवस्थित विकास, प्रवर्द्धन र समन्वय गर्ने उद्देश्य राखेको छ। सम्झौतापत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रूपमा क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्नेछन्। यसका साथै, एनएसएसएफमार्फत हिसानमा आबद्ध विद्यार्थी खेलाडीहरूले अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसनका प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्। हस्ताक्षर समारोहमा एनएसएसएफका उपाध्यक्ष मोहन कुमार कार्की, हिसानका महासचिव रामहरि सिलवाल लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सम्झौतामा यू–१९ बास्केटबल ३ बाइ ३ च्याम्पियनसिप, एनएसएसएफ हिसान कप, एनएसएसएफ हिसान कम्ब्याट गेम्स र स्कुल प्रिमियर लिग आयोजना गर्ने उल्लेख गरिएको छ। यसैगरी, खेल विज्ञान र पूर्वाधारको विकासमा पनि सहकार्य गर्ने सहमति भएको छ। दुवै निकायले संयुक्त रूपमा प्रायोजन, निजी सहयोग र सरकारी अनुदान जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।