
आफ्नै विद्युत् निर्यात गर्न नसकिँदा, बर्खायाम नेपालमा अत्यधिक मात्रामा बिजुली खेर जान थालेको निजी ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अध्यक्षले बताएका छन्। नेपाल विद्युत् प्राधिकरण र निजी जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकहरूले बर्खायाममा जम्मा करिब ४,३०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सक्छन्। तर देशभित्र २,५०० मेगावाट मात्र माग रहँदैछ भने भारत र बाङ्ग्लादेशमा जम्मा १,२०० मेगावाट मात्रै निर्यात भइरहेको छ भनी प्राधिकरणका कर्मचारीहरूले बताएका छन्।
विद्युत् खरिद, बिक्री, निर्यात र वितरण गर्ने प्राधिकरणका प्रवक्ताले भने निजी ऊर्जा उत्पादकहरूको दाबी सबै पूर्ण रूपमा सत्य नभएको बताएका छन्। ऊर्जा खरिद सम्झौताअनुसार बिजुली प्रयोग नहुने अवस्थामा पनि उत्पादक कम्पनीलाई प्राधिकरणले क्षतिपूर्ति दिँदै आएको प्रवक्ता राजन ढकालले जनाए। स्वच्छ ऊर्जा उत्पादनमा बर्खायाम करिब चार महिना पूर्ण क्षमतामा बिजुली उत्पादन भए पनि हिउँदमा मात्र १५ देखि ३० प्रतिशत बिजुली उत्पादन हुँदा हिउँदमा उद्योगलाई बिजुली अभाव हुन्छ र बर्खामा भने बिजुली खेर जान्छ।
इप्पानका अध्यक्ष मोहन डाँगीका अनुसार अहिले करिब ९०० देखि १००० मेगावाट बिजुली बर्खायाम खेर जाने गरेको छ। तर प्राधिकरणका प्रवक्ता ढकाल भन्छन्, बर्खायाम सबै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्दैनन्। गत वर्षसम्म विद्युत् प्राधिकरणले ‘टेक अर पे’ नीति अनुसार सम्झौतामा उल्लेखित बिजुलीको भुक्तानी दिँदै आएको थियो। तर अहिले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना लागि ‘टेक अर पे’ को सम्झौता त्यति व्यापक छैन भनी इप्पानले जानकारी दिएको छ।
निजी क्षेत्रले बिजुली निर्यात गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। “हाम्रा सात आठ कम्पनीहरूले बिजुली निर्यात गर्न अनुमति मागिरहेका छन्। सरकार चाहेको खण्डमा निजी क्षेत्रलाई निर्यात र प्रसारण लाइन बनाउन दिने नीति आवश्यक छ,” डाँगीले बताए। यसैबीच, नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकले नेपाल र भारतबीच विद्युत् व्यापार विस्तार गर्ने सहमति गरेको छ। यस सहमतिका अनुसार अब भारतबाट दुई वटा अन्तर्देशीय प्रसारण लाइनमार्फत् १,८५० मेगावाटसम्म बिजुली निर्यात गर्न सकिनेछ।






