अमरेशको प्रश्न – गरिबले उपचार पाएका छैनन्, के अब राज्यले संवेदनशीलताको जागरण गर्नुपर्छ?

फाइल तस्वीर २२ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको समस्यामा राज्यले आवश्यक संवेदनशीलता देखाएको छैन भनी बताएका छन्। काभ्रेपलाञ्चोकका वृद्ध दम्पत्तिले उपचार नपाएर सुनकोशी नदीमा आत्मदाह गरेको घटनालाई लिएर फेसबुकमा धारणा व्यक्त गर्दै सांसद सिंहले सरकारको संवेदनशीलतामा प्रश्न उठाएका छन्।
‘काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमतीले उपचार नपाएपछि सुनकोशीमा हाम फालेको कुरा सत्य भए यो राज्यको लागि एउटा ऐना हो,’ सांसद सिंहले लेखेका छन्, ‘श्रीमतीलाई क्यान्सर उपचार नदिइएको र दुवैजनाले एकैसाथ खोलामा हाम फाल्नु सामान्य कुरा होइन।’
उनले गरिब जनता विभिन्न समस्यामा परेका उल्लेख गर्दै भने, ‘गरिबले उपचार पाएका छैनन्, गृहिणीले ग्यास पाएका छैनन्, युवाले रोजगार पाएका छैनन्, किसानलाई मल पाएको छैन, गाउँघरका जनता सिटामोल सबै वस्तु नपाउँदै छन्।’ उनले थपे, ‘यो राज्य संयन्त्र यसरी कसरी चलिरहेको छ? यसमा राज्यले निकै संवेदनशील हुनुपर्ने होइन?’






