
सोट्टो नेपालले सीमित गन्तव्यमा मात्र हवाई उडान हुँदा विदेशी एयरलाइन्सले एकाधिकार जमाएर भाडा अत्यधिक महँगो भएको निष्कर्ष निकालेको छ। अध्यक्ष मानबहादुर शाहीले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोट्टो नेपालले स्थानीय सरकारसँग सहकार्य गर्दै होमस्टे र पदयात्रा जस्ता कार्यक्रम सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा सक्रिय रहेको जनाएको छ।
२४ साउन, काठमाडौं। सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालले सीमित गन्तव्यमा मात्रै उडान भएका कारण हवाई भाडा महँगो भएको बताएका छन्। आइतबार पत्रकार सम्मेलनमा सोट्टो नेपालले यसबारे प्रतिक्रिया दिएको हो। संस्थाका अध्यक्ष मानबहादुर शाहीले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी सीमित रहँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेको बताए। यसले हवाई भाडा अत्यधिक महँगो हुने स्थिति सिर्जना गरेको उनको भनाइ छ।
सोट्टो नेपालले पर्यटन व्यवसायीको पेशागत हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा व्यवसायमा देखापर्ने समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय, संवाद र नीतिगत पैरवी गर्दै आएको उनले बताए। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि सोट्टो नेपालले सिंगापुर, मलेसिया, रसिया, फिनल्याण्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यहरूमा विभिन्न कार्यक्रममा भाग लिएको छ। यी कार्यक्रमहरूले नेपालको पर्यटन सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गरी पर्यटक आकर्षित गर्न र पर्यटन आय वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उनीहरूको भनाइ छ।






