Skip to main content

एक वर्षमा ४ लाख २० हजारले छोडे लन्डन, राजधानीको आकर्षणमा कमी

बेलायतको राजधानी लन्डनमा बढ्दो जीवनयापन खर्च, उच्च घरभाडा र बेरोजगारीका कारण एक वर्षमा ४ लाख २० हजारभन्दा बढी मानिसले सहर छोडेर अन्यत्र बसाइँ सरेका छन्। वर्क फ्रम होम संस्कृतिको विकास र गुणस्तरीय जीवन खोज्दै युवा पुस्ता राजधानी छोडेर बकिङ्घमसायर, बर्मिङ्घम र स्कटल्यान्डजस्ता तुलनात्मक रूपमा सस्तो र शान्त सहरहरूमा आकर्षित भएका छन्। लन्डनको महत्त्व कायमै रहे पनि बढ्दो बसाइँसराइले सहरको आवास र श्रम बजारमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गर्दै मेयर सादिक खान आवास तथा रोजगारी सिर्जनामा केन्द्रित हुनुभएको छ।

लन्डनलाई दशकौँदेखि अवसरको शहर मानिँदै आएको छ। राम्रो रोजगारी, उच्च शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय जीवनशैलीका कारण लाखौँ मानिसको रोजाइमा पर्ने यो शहर अहिले नयाँ चुनौतीको सामना गरिरहेको छ। हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कअनुसार, जुन २०२५ सम्म एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिसले राजधानी छोडेर बेलायतका अन्य शहर र ग्रामीण क्षेत्रमा बसाइँ सरेका छन्। विश्लेषकहरूका अनुसार यो केवल सामान्य बसाइँसराइ होइन, बरु जीवनशैलीमा परिवर्तनको संकेत हो।

लन्डनमा घरभाडा र घरको मूल्य लगातार बढ्दो छ। दैनिक उपभोग्य वस्तु, यातायात र अन्य सेवाको खर्च पनि बेलायतका अधिकांश शहरभन्दा महँगो छ। त्यसैले धेरै परिवार र युवा पेसाकर्मीले कम खर्चिलो शहर रोज्न थालेका छन्। कोरोना महामारीपछि घरबाटै काम गर्ने अर्थात् वर्क फ्रम होम संस्कृति तीव्र रूपमा बढेको छ। पहिले रोजगारीका लागि लन्डनमै बस्नुपर्ने बाध्यता थियो। तर अहिले धेरै कम्पनीहरूले टाढाबाटै काम गर्ने सुविधा दिएका कारण मानिसहरू ठूलो शहरमा बस्नुपर्ने आवश्यकतालाई कम आँकलन गर्दैछन्।

लन्डनको ६.५ प्रतिशत बेरोजगारी दर बेलायतका अन्य कुनै पनि क्षेत्रको तुलनामा सबैभन्दा बढी हो, जबकि यहाँको राष्ट्रिय औसत दर ४.९ प्रतिशत छ। करसम्बन्धी तथ्यांक अनुसार, अन्य क्षेत्रको तुलनामा लन्डनमा तलब वृद्धिदर पनि सुस्त छ। आन्तरिक बसाइँसराइको विश्लेषणअनुसार लन्डन छोड्नेहरूका लागि बकिङ्घमसायर, बर्मिङ्घम, स्कटल्यान्ड, एसेक्स, ब्राइटन र ब्रिस्टल प्रमुख गन्तव्य भएका छन्। राजधानीबाट बाहिरिनेहरूको संख्या विशेषगरी ३० देखि ४० वर्ष उमेर समूहका मानिस र बालबालिकामा सबैभन्दा बढी देखिएको छ।

नयाँ अनुसन्धानले देखाएको छ कि अपराध स्तर, करियर अवसरमा देखिएको सुस्तता र उच्च घरभाडाको कारण आगामी पाँच वर्षमा पाँचमध्ये दुई युवाले लन्डन छोड्ने सम्भावना छ। ‘लन्डन हेरिटेज क्वार्टर’ को नयाँ प्रतिवेदनले १८ देखि ३० वर्ष उमेर समूहका मानिसहरूको जीवनस्तरमा तीव्र गिरावट देखाएको छ। यस क्रममा लन्डनका कतिपय युवाहरूले राजधानीको जीवनलाई अवसरभन्दा ‘अस्तित्व रक्षाको संघर्ष’को रूपमा लिन थालेका छन्।

यद्यपि, लन्डनको महत्त्व घटेको छैन। यो अझै बेलायतको सबैभन्दा ठूलो आर्थिक, वित्तीय र सांस्कृतिक केन्द्र हो। हरेक वर्ष हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष जनशक्ति र आप्रवासी लन्डन आउँछन्। केही विज्ञहरूले भन्छन् कि आन्तरिक बसाइँसराइ बढे पनि विदेशबाट आउने जनसंख्याले भविष्यमा यो कमीलाई सन्तुलित गर्न सक्छ। लन्डनका मेयर सादिक खानका प्रवक्ताले भनेका छन्, मेयरलाई लन्डन विश्वकै उत्कृष्ट शहर हो भन्नेमा कुनै शंका छैन। ‘सादिकले लन्डनलाई सबैका लागि उपयुक्त सहर बनाउने अथक प्रयास गरिरहनुभएको छ। उहाँले काउन्सिल आवास निर्माण गर्ने, ३ लाख ३० हजारभन्दा बढी नयाँ रोजगार सिर्जना गर्न सहयोग गर्ने, अपराध घटाउन मेट्रोपोलिटन प्रहरीसँग काम गर्ने जस्ता कार्य गरिरहनुभएको छ,’ प्रवक्ताले भने, ‘साथै सबै उमेरका मानिसहरूले उन्नति गर्न, अवसर पाउन र गुणस्तरीय जीवन यापन गर्न सकून् भन्ने सुनिश्चित गर्न उहाँ सक्रिय हुनुहुन्छ।