
२४ साउन, काठमाडौं । अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। देशका सातवटै प्रदेशका विभिन्न सहरहरूमा चलेका क्षेत्रीय कार्यशाला तथा भर्चुअल मास्टरक्लासहरूमा सहभागी २०० भन्दा बढी उद्यमीहरूबीच भएको प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० जना नवप्रवर्तक उद्यमीहरू चयन भएका थिए। काठमाडौंमा आयोजित तीन दिने विशेष आवासीय कार्यक्रममा नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ आयाम थप्दै युवा उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यवसाय विस्तार गर्ने ठूलो अवसर प्रदान गरिएको आयोजकको दाबी छ।
कार्यक्रमको मुख्य आकर्षण ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ रहेको थियो, जहाँ सहभागीहरूले आ-आफ्ना व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात अवसर तथा लगानी आकर्षित गर्ने रणनीतिहरू प्रस्तुत गरेका थिए। उनीहरूले व्यवसायिक क्षेत्रका अग्रगण्य व्यक्तिहरूसँग आफ्ना योजना पिच गरेका थिए। विज्ञहरूबाट प्राप्त व्यावहारिक सुझाव र मार्गदर्शनले उद्यमीहरूलाई आफ्ना व्यावसायिक मोडललाई थप परिष्कृत बनाउन मद्दत गरेको आयोजकले जनाएको छ।
अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शनी पनि गरेका थिए। उक्त प्रदर्शनीले उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्यो र नयाँ व्यावसायिक सम्बन्ध तथा सहकार्यका सम्भावनाहरू विस्तार गर्ने अवसर पनि खोल्यो।
कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स प्रमुख माइक हार्करले यो शोकेसले एउटा कार्यक्रमको मात्रै समापन नभई अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको बताए। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेको र नेपालको आर्थिक विकासमा सहकार्य गर्न पाउँदा आफूलाई गर्व लागेको उनले व्यक्त गरे।






