Skip to main content

इन्डोनेसियामा विषाक्त खानेकुरा सेवनपछि २६९ विद्यार्थी बिरामी परेका

इन्डोनेसियाको उत्तरी सुमात्रामा खाना खाएपछि बिरामी भएका २६९ जना विद्यार्थीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। पाँच विद्यालयका विद्यार्थीहरूमा खाना विषाक्तताको लक्षण देखिएपछि उनीहरूलाई अस्पताल लगिएको अधिकारीहरूले जनाएका छन्। शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशंका गर्दै नमूना परीक्षणका लागि पठाइएको जानकारी दिनुभएको छ। २९ साउन, जकार्ता (रासस/सिन्ह्वा)।

इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना सेवन गरेपछि बिरामी भएका कम्तीमा २६९ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीहरूमा बिहीबारदेखि खाना विषाक्तताको लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो। बिरामी विद्यार्थीहरूमा वाकवाकी लाग्नु, बान्ता हुनु, छालामा एलर्जी देखिनु र केहीलाई सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।

स्थानीय शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीहरूले खाएको माछाको तरकारीमा समस्या भएको आशंका गरिएको बताए। उक्त खाना आपूर्ति गर्ने भान्साबाट नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको पनि उनले जानकारी दिए। बारुसले अस्पतालमा भर्ना भएका सबै विद्यार्थीहरूको अवस्था अहिले स्थिर रहेको पुष्टि गरे। सम्बन्धित निकायहरूले घटनाको थप अनुसन्धान गरिरहेको छ।