Skip to main content

कुन्दनराज काफ्लेले कांग्रेसीहरूबीचको विभेदलाई पार्टीको कमजोरी माने

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले एक कांग्रेसीले अर्को कांग्रेसीलाई तल्लो दर्जाका देखाएर आफू माथि उठ्ने प्रवृत्तिले पार्टी कमजोर हुँदै गएको बताए। संस्थापन इतर समूहको भेलामा सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गरि यस्तो अभिव्यक्ति दिएका हुन्। ‘पहिले मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई पनि पीडा हुन्थ्यो। त्यसैले कांग्रेस बलियो थियो,’ उनले भने, ‘आज एउटाले अर्को कांग्रेसको नाक काट्ने खालको संस्कार विकास भएको छ। यो कसले गर्‍यो?’ कांग्रेसले यसबारे गम्भीर चिन्तन गर्नुपर्ने बेला आएको उनले बताए।

अहिले एउटा कांग्रेसलाई तल्लो दर्जाको देखाएर अर्को कांग्रेस आफूलाई उत्कृष्ट देखाउने प्रवृत्ति सिर्जना भएको पनि उनले बताए। ‘एउटालाई कमजोर देखाएर आफू बलियो बन्न खोज्ने संस्कार आजको कांग्रेसको भाइरस हो। त्यो भाइरस १५ औं महाधिवेशनमा अन्त्य गरिनुपर्छ,’ उनले उल्लेख गरे। कांग्रेसको नेतृत्व गर्ने व्यक्तिहरूबाटै यस्तो व्यवहार देखिएको उनले दाबी गरे। ‘त्यो भाइरसलाई अहिले नै उपचार नगरे कसैलाई पनि जोगाउन सकिने छैन,’ काफ्लेले थपे।