
२ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँभन्दा बढी नाफा वृद्धि गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त आर्थिक वर्षमा नेपाल टेलिकमले कुल ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा यसको खुद मुनाफा ५ अर्ब ६७ लाख रुपैयाँ थियो । यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको छ ।
कम्पनीको करअघिको मुनाफामा पनि उल्लेखनीय वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा तीन अर्ब ४१ करोड ४५ लाख रुपैयाँले बढी हो । त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसन अघिको आम्दानी अघिल्लो वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँबाट बढेर गत वर्ष २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ, जसले १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँको वृद्धि देखाउँछ ।
टेलिकमको सञ्चालन तथा कुल आम्दानीमा पनि सकारात्मक प्रभाव परेको छ । गत आर्थिक वर्षमा कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढी हो । त्यसैगरी, कम्पनीको कुल आम्दानी ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो र यसले १ अर्ब १ करोड १५ लाख रुपैयाँको वृद्धि जनाउँछ । यद्यपि, बैंकको ब्याजदर घटेका कारण टेलिकमको ब्याज आम्दानी कम भएको छ । गत आर्थिक वर्षमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँले घटेको छ । तर, ब्याज आम्दानी घटे तापनि कम्पनीको मुख्य दूरसञ्चार सेवा, विशेषगरी जिएसएम सेवाको राजस्वमा ६४ करोड ५४ लाख रुपैयाँको वृद्धि भएको देखिन्छ ।






