Skip to main content

साउन महिनामा एफडीआई प्रतिबद्धता ठूलो गिरावटमा, ३ अर्ब ७७ करोडमा सीमित

चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा कुल ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता उद्योग विभागले सार्वजनिक गरेको छ। साउन महिनामा १ सय ९१ उद्योग–आयोजनाहरुमा लगानी प्रतिबद्धता आएको छ, जुन गत वर्षको सोही महिनाको २४ अर्ब १० करोड ४९ लाख रुपैयाँभन्दा निकै घटेको हो। सूचना प्रविधि क्षेत्रबाट १ सय २८ उद्योग दर्ता भएका छन् भने पर्यटन क्षेत्रमा ३३ उद्योग दर्ता भई १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। २ भदौ, काठमाडौं।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ३ अर्ब ७७ करोड रुपैयाँ मात्र रहेको छ। उद्योग विभाग अनुसार, साउन २०८३ मा कुल १ सय ९१ उद्योग–आयोजनामा लगानी प्रतिबद्धता देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा भने २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता भएको थियो। यससँग तुलना गर्दा यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेखनीय गिरावट देखिन्छ।

गत आर्थिक वर्षमा १ सय २७ परियोजनामा लगानी प्रतिबद्धता भएको थियो। त्यसै वर्ष चीनमा भैंसी मासु निर्यात गर्ने ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ कम्पनीले सबैभन्दा ठूलो लगानी प्रतिबद्धता पाएको थियो। उक्त परियोजनामा गत आवमा मात्र २० अर्ब ४५ करोड रुपैयाँको प्रतिबद्धता रहेको थियो भने चालु आवमा ठूलो लगानी प्रतिबद्धता एउटै उद्योगमा मात्रै देखिएको छ। बाँकी मध्यमस्तरका दुई र अन्य साना लगानीका उद्योगहरुमा लगानी प्रतिबद्धता भएको छ।

यस वर्ष अटोमेटिक रुटबाट सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। सरकारले अटोमेटिक रुटमा लगानीको माथिल्लो सीमा हटाएपछि एफडीआई स्वीकृतिमा अटोमेटिक रुटबाट लगानी स्वीकृतिमा बृद्धि भएको जानकारी पनि दिइएको छ।

साउन महिनामा स्वीकृत एफडीआईमा सूचना प्रविधि (आईटी) क्षेत्रको प्रभुत्व छ। IT क्षेत्रमा १ सय २८ उद्योग दर्ता भएका छन्, तर उक्त क्षेत्रमा मात्र ५६ करोड ९८ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता भएको छ।

संख्यामै पर्यटन क्षेत्र दोस्रो स्थानमा रहेको छ, जहाँ ३३ उद्योग दर्ता भइसकेका छन् र १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको उद्योग विभागले जनाएको छ। तेस्रो स्थानमा सेवामूलक उद्योग आतेछन्, जसमा १९ उद्योग दर्ता भई ६८ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। चौथो स्थानमा उत्पादनमूलक उद्योग छन्, जसमा ९ परियोजना दर्ता भई ८४ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यसैगरी, कृषि र उर्जा क्षेत्रमा १/१ उद्योग दर्ता भए पनि लगानी प्रतिबद्धता लगभग समान, क्रमशः २ करोड २ करोड रुपैयाँमा सीमित छ।