Skip to main content

ओपनएआईले १३ देखि १७ वर्षका किशोरकिशोरीका लागि ‘च्याटजीपीटी फर टीन्स’ सेवा सार्वजनिक गर्‍यो

ओपनएआईले १३ देखि १७ वर्षसम्मका किशोरकिशोरीका लागि ‘च्याटजीपीटी फर टीन्स’ सेवा अगस्ट १८ देखि विश्वव्यापी रूपमा उपलब्ध गराउन सुरु गरेको छ। यस सेवाभित्र ‘स्टडी मोड’, ‘क्विजेज’, ‘लर्निङ भिजुअलाइजेसन्स’ र ‘स्टडी आवर्स’ जस्ता सुविधा समावेश गरिएको छ, जसले गृहकार्यमा मात्र सीधा उत्तर प्रदान गर्नुको सट्टा चरणबद्ध रूपमा सहयोग पुर्‍याउँछ। साथै, ओपनएआईले आत्महत्या, हिंसा, यौन र अत्यधिक हिंसात्मक सामग्रीमा कडा नियन्त्रण लगाउँदै अभिभावकका लागि ‘प्यारेन्टल कन्ट्रोल’ सुविधा पनि उपलब्ध गराएको छ।

यो सेवा किशोरहरूलाई पढाइमा सहयोग पुर्‍याउन, आलोचनात्मक सोच प्रवद्र्धन गर्न र एआईलाई सुरक्षित र सही तरिकाले प्रयोग गर्न सिकाउने उद्देश्यले ल्याइएको हो। ‘च्याटजीपीटी फर टीन्स’ मा समावेश ‘स्टडी मोड’ लाई विद्यार्थीहरूले गृहकार्यका लागि प्रश्न सोध्न र समस्या समाधान चरणबद्ध तरिकाले गर्न प्रयोग गर्न सक्छन्, जसले सिधा उत्तर खोज्ने प्रवृत्ति कम गर्छ। यदि विद्यार्थीले गृहकार्यलाई छिटो समाप्त गर्न सिधा उत्तर खोज्यो भने ‘रिस्पोन्सिबल होमवर्क रिमाइन्डर’ सुविधा उसलाई पुनः ‘स्टडी मोड’ तर्फ फर्काउने काम गर्छ।

किशोरहरूलाई अभ्यासका लागि ‘क्विजेज’, जटिल विषयवस्तु बुझ्न ‘लर्निङ भिजुअलाइजेसन्स’ र नियमित पढाइका लागि ‘स्टडी आवर्स’ सुविधा पनि यो सेवामा उपलब्ध छन्। ‘स्टडी आवर्स’ मा किशोर वा अभिभावकले निश्चित समय निर्धारण गर्न सक्छन्, जुन समय पूरा भएपछि नयाँ कुराकानी ‘स्टडी मोड’ बाट पुनः सुरु हुन्छ। किशोरकिशोरीलाई हानिकारक सामग्रीबाट सुरक्षित राख्नका लागि यो सेवा थप सुरक्षा संरचनासहित तयार गरिएको छ।

अभिभावकले किशोरकिशोरीको खातासँग आफ्नो खाता जोडेर ‘प्यारेन्टल कन्ट्रोल’ प्रयोग गर्न सक्नेछन्। यसमार्फत उनीहरूले ‘क्वाइट आवर्स’ अर्थात् सेवा प्रयोग नगर्ने समय तोक्न, विभिन्न सेटिङहरू व्यवस्थापन गर्न र यदि गम्भीर सुरक्षा जोखिम देखिएमा सीमित ‘सेफ्टी नोटिफिकेसन’ प्राप्त गर्न सक्छन्। यद्यपि, अभिभावकले किशोरकिशोरीको सबै कुराकानी पढ्न वा निगरानी गर्न पाउँदैनन्। ओपनएआईले किशोरकिशोरीलाई एआई प्रयोगमा मात्र नभई, एआई कसरी काम गर्छ, यसले कसरी गल्ती गर्छ र यसको जवाफप्रति प्रश्न कसरी उठाउने भन्ने कुरा सिकाउन कोडएआईसँग साझेदारी पनि गरेको छ।