
समाचार सारांश चित्रकार नवीन नाब्लोले पाटनको मौनता र सडकका कुकुरहरूलाई केन्द्रमा राखेर ग्यालरी एमक्युब, पाटनमा ‘टेम्पल्स, नेचर एन्ड पोक्चेज्’ नामक प्रदर्शनी सुरु गरेका छन्। नवीनले आफ्नै वरिपरिको वातावरण र पाटनका गल्लीहरूलाई क्यानभासमा उतार्नुपर्ने भन्दै इन्टरनेटका फोटोभन्दा आफ्नै खिचेका फोटोहरू प्रयोग गर्ने बताएका छन्। काठमाडौंको भिडभाड र कोलाहलको बीचमा एउटा यस्तो संसार पनि छ, जहाँ समय केही बेरका लागि टक्क अडिन्छ। पाटनका गल्लीपेटी, साना ढुङ्गे मूर्ति र चैत्यहरूको अगाडि सुतिरहेका वा आराम गरिरहेका कुकुरहरूलाई नियाल्दा त्यही टक्क रोकेको समय फेला पर्न सक्छ। तिनीहरूमा एकान्तपन र थकानको अनुभूति पाइन्छ।
चित्रकार नवीन नाब्लोले ग्यालरी एमक्युब, पाटनमा टेम्पल्स, नेचर एन्ड पोक्चेज् नामक आफ्नो एकल प्रदर्शनीमा ती कुकुरहरू र पाटनको मौनतालाई क्यानभासमा उतार्ने प्रयास गरेका छन्। यो उनको दोस्रो एकल चित्रकला प्रदर्शनी हो। यस प्रदर्शनीमा राखिएका चित्रहरूले दर्शकलाई सहरी जीवनको यथार्थ र उनको आफ्नै मानसिक अवस्थालाई पनि प्रतिबिम्बित गर्न सफल भएका छन्। नवीनको परिवार ताप्लेजुंगबाट झापामा स्थानान्तरण भएको थियो। ताप्लेजुंगमा जन्मिए पनि उनको बाल्यकाल झापामा बित्यो। प्लस टुसम्मको पढाइ पनि त्यही सम्पन्न भयो। त्यसपछि उनका बुबाले उनलाई काठमाडौं पठाउने वाचा गरे। एक मात्र सर्त थियो– प्लस टुमा राम्रो अंक ल्याउनु पर्ने। परीक्षा अवधिमा चित्रकला बनाएको कारण नवीनलाई डाँट र कुटाइ समेत भए। तर उनले अन्ततः प्लस टु राम्रो अंकमा उत्तीर्ण गरी काठमाडौं यात्रा गरे।
यसरी सन् २००९ मा उनी र उनका भाइ काठमाडौं आएर ब्याचलर पढाइ सुरु गरे। नवीनलाई सानैदेखि ललितकलामा रुचि थियो। उनले काठमाडौं विश्वविद्यालयमा ब्याचलर इन फाइन आर्ट्स (बीएफए) मा भर्ना लिए। त्यहीँबाट उनले सन् २०१३ मा बिएफए र २०१६ मा मास्टर्स इन फाइन आर्ट्स (एमएफए) पूरा गरे। नवीनको जीवन कथा जति क्यानभास जस्तै शान्त देखिन्छ, भित्री पाटो त्यति संघर्ष र एकान्तले भरिएको छ। काठमाडौंमा लगभग १५ वर्ष बिताइसकेका नवीन अहिले चबहिलमा दिदीहरूसँग बस्छन्। र सकेसम्म रातदिन क्यानभासमा हराउन खोज्छन्। उनका सबै दाजुभाइ र जुम्ल्याहा भाइ विदेशमा छन्। भर्खरै मात्र जुम्ल्याहा भाइले विदेशमा घर किनेको खबर पाउँदा उनी काठमाडौंका गल्लीहरूमा यस प्रदर्शनीका लागि विषय खोज्न घुमिरहेका थिए। ‘सबै बाहिर छन्, भाइले पनि घर किन्यो। म त यहाँ कलाकार भनेर दौडिरहेको छु,’ उनी सुनाउँछन्।
यद्यपि यही पारिवारिक दूरी र शहरको एकान्त नै उनको कलाको सबैभन्दा ठूलो प्रेरणा बनेको छ। पहिले नवीन थोरै ठूलो रंगीन चित्र र पोर्ट्रेट बनाउँथे। तर हाल विश्वसनीय लाइन र स्याही (पेन एन्ड इन्क) विधिमा पूर्ण रूपमा परिवर्तन भएका छन्। सानो क्यानभासमा उनले पूर्ण ध्यान दिएर रेखाचित्र कोर्छन् जुन मेटिन नपरोस्। कालो मसी जति आकर्षक देखिन्छ, उति नै कठोर र चुनौतीपूर्ण पनि हुन्छ किनकि यसको कुनै गल्ती सुधार गर्न सकिँदैन। ‘एकचोटी भिजेपछि कम गर्न सकिँदैन, कागजमा क्लिनिनेस राख्न धेरै गाह्रो छ,’ नवीनले प्राविधिक पक्ष बुझाउँछन्। यस प्रदर्शनीमा ३० भन्दा बढी यस्ता चित्र राखिएका छन्।
यी चित्रहरूले दर्शकलाई पाटनका विभिन्न ठाउँमा आराम गरिरहेका कुकुरहरूको थकान र मौनता प्रस्तुत गर्छन्। कुकुरलाई विषय बनाउन नवीनसँग एउटा कहानी छ। सरकारले भत्काएको सुकुम्बासी बस्तीमा एकदिन भग्नावशेष अगाडि एउटा कुकुर उदास अवस्थामा सुतेको देखे। नयाँले त्यसको फोटो खिचेर स्टूडियोमा गएर चित्र बनाए। यहीँबाट कुकुरलाई मुख्य विषय बनाउन सोचे। ‘काठमाडौं पुगेपछि मान्छेको जीवनमा सुरु हुने भागदौड र चुनौती धेरै गाह्रो हुन्छ। यी कुकुरहरूको थकानमा मैले आफूलाई प्रतिबिम्बित गराएँ,’ नवीन सुनाउँछन्। उनले आफ्ना चित्रमा इन्टरनेटका फोटो कहिल्यै प्रयोग गर्दैनन्। सकेसम्म आफैंले फोटो खिच्छन्।
उनले आफ्नो वरिपरिको वातावरण, संस्कृति र गल्लीहरूलाई क्यानभासमा उतार्नु पर्ने ठान्छन्। ‘हामीले आफ्नै वरिपरिको विषयहरूलाई बनाउनु अत्यन्त महत्वपूर्ण छ। त्यो नै वास्तविक हुन्छ,’ नवीन भन्छन्। ‘भविष्यमा १०० वर्षपछि कोही हेर्दा यो कहाँको चित्र हो भनेर चिन्न सकुन्, नेपाल पाटनको गल्ली हो भनेर।’ पाटन क्षेत्रफलमा सानो भए पनि यहाँ सयौं मन्दिर र चैत्यहरू छन्। ती सबैका कथाहरू फरक छन्। दैनिक देखिने पात्रहरू, चाहे कुकुर होस् या मानिस, विभिन्न छन्। नवीनले खासगरी मन्दिर अगाडि देखिएका कुकुरहरूलाई क्यानभासमा उतारेका छन्।
उनका यी कामहरूले समयलाई टक्क सँग रोकेको छ साथै समाजको धार्मिक सहिष्णुता र सहअस्तित्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। यसैगरी कालो मसीको प्रत्येक स्ट्रोकमा कोरेका पाटनका कुकुर र मन्दिरका आकृतिहरूले सहरलाई केही पल विश्राम र सोच्न आग्रह गरिरहेका छन्। नवीन नाब्लो एकल विधामा सीमित छैनन्। ललितकला क्षेत्रमा उनी कार्टुन र क्यारिकेचरमा पनि सक्रिय छन्।
उनको टाउको ठूलो र शरीर सानो हुने क्यारिकेचर शैली निकै मनपराइने शैली हो जसले मान्छेको भावनालाई अझ प्रबल देखाउँछ। ४० को उमेर नजिक पुग्दै गर्दा झट्ट हेर्दा २५ जस्तै देखिने नवीनले कला र जीवनलाई सँगसँगै अघि बढाइरहेका छन्। उनलाई थाहा छ कि कला क्षेत्रमा ठूलो आर्थिक लाभ हुँदैन। यो वास्तविकता जान्दै उनी आफ्नै माग अनुसार एकान्तमा रमाउन चाहन्छन्।






