
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को २३औँ संस्करणका लागि इम्बार्क कलेजले हायर एजुकेसन साझेदारको रूपमा साथ दिएको छ। सम्झौताअनुसार मञ्चले छनोट गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउनेछ। १८ भदौमा काठमाडौंमा हुने अवार्डको पिपल्स च्वाइस विधिमा पूजा राना, रविन्द्र ढाँट, शेर मल्ल, मीना सुनार र सानुमाया थिङ मनोनयनमा परेका छन्।
४ भदौ, काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजना गरिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा इम्बार्क कलेजको साथ प्राप्त भएको छ। यसै सन्दर्भमा १८ भदौ काठमाडौंमा आयोजना हुने अवार्डको २३औँ संस्करणका लागि इम्बार्क कलेज हायर एजुकेसन पार्टनरको रूपमा आबद्ध भएको छ। बिहीबार सम्पन्न सम्झौता कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरको तर्फबाट नीरज न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
यस सम्झौताका आधारमा मञ्चले चयन गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहमा पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाखसम्म) प्रदान गर्नेछ। साथै, मञ्चको एनएसजेएफ एकेडेमीद्वारा सञ्चालन हुने अनुसन्धान, तालिम र मेन्टरसिप कार्यक्रममा पनि इम्बार्क कलेजले सहयोग गर्ने बताइएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै, इम्बार्क कलेजका अध्यक्ष ठाकुरले आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रको अत्यन्त महत्वपूर्ण कार्यक्रम हो र यसको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र अन्य खेलकर्मीलाई सम्मान र पुरस्कार प्रदान गर्ने यस अवार्डमा पिपल्स च्वाइस विधिको मनोनयन सार्वजनिक भइसकेको छ।
उक्त विधिमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीहरुलाई खल्ती वालेटबाट मतदान गर्न सकिनेछ। त्यस्तै, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट पनि मनोनित खेलाडीहरूको तस्वीरमा लाइक गरेर मतदान गर्न सकिन्छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्षका प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड, पारा एथ्लिट अनर र एसियाली खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ।






