
अल्फा अटोमोटिभले काठमाडौंमा रोयल इन्फिल्ड क्लासिक ३५० ‘गोर्खा एडिसन’ सार्वजनिक गरेको छ। क्लासिक ३५० गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार तोकिएको छ। नयाँ संस्करणमा ओलिभ ग्रीन रङ, विशेष ग्राफिक्स र क्रस्ड खुकुरी मोटिफ राखिएको छ। ४ भदौ, काठमाडौं। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले ‘रोयल इन्फिल्ड गोर्खा एडिसन’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा नयाँ संस्करणको अनावरण गरिएको हो।
कार्यक्रममा बोल्दै अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डको १२५ वर्ष लामो गौरवशाली इतिहास र नेपाली राइडरहरूसँगको प्रगाढ सम्बन्धलाई स्मरण गरे। उनले ‘गोर्खा’ नाम केवल एउटा ब्राण्ड मात्र नभई नेपाली वीरता, साहस र अनुशासनको परिचायक भएको र यसलाई रोयल इन्फिल्डको विरासतसँग जोड्न पाउनु गर्वको विषय भएको बताए। ‘आज हामी नयाँ मोटरसाइकल मात्र सार्वजनिक गरिरहेका छैनौं, हामी नेपाली राइडरहरूको भावना र गोर्खाली पहिचानलाई सडकमा उतार्ने प्रयास गरिरहेका छौं,’ उनले बताए।
गोर्खा एडिसनले रोयल इन्फिल्डको क्लासिक डिजाइन र नेपाली गौरवको भावना एकसाथ मिश्रण गरेको कम्पनीको दाबी छ। अल्फा अटोमोटिभले नेपाली बजारमा हन्टर, क्लासिक, मिटियर, र्स्क्याम, हिमालयन र हालै सार्वजनिक गुरिल्ला सहितका मोडेलहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र राइडिङ कम्युनिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। ‘नाम गोर्खाको, भावना नेपालीको, यात्रा रोयल इन्फिल्डको’ नाराका साथ सार्वजनिक गरिएको एडिसनले रोयल इन्फिल्ड प्रेमीहरूले थप रुचाउने अपेक्षा गरिएको छ।






