
पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ, जहाँ नेपालका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने यो दुईदिने प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (PMGओ) सम्म पुग्ने आधिकारिक छनोट हो।
प्रतियोगितामा सहभागी टोलीहरूले विभिन्न पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले २,५०० अमेरिकी डलर, उपविजेताले १,५०० डलर, तेस्रो टोलीले १,००० डलर र सर्वोत्कृष्ट खेलाडी (एमभीपी) ले ४०० डलर पाउनेछन्। चौथोदेखि दशौं स्थानसम्म रहने टोलीहरूले क्रमशः ८००, ७००, ६००, ५००, ४००, २५० र २५० डलर पुरस्कार प्राप्त गर्नेछन्। एघारौं र बाह्रौं टोलीले जनही १५० डलर र १३औंदेखि १६औं स्थानसम्म रहने टोलीले जनही १०० डलर पाउनेछन्।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृत गरिएको छ र यसमा खेलसँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। आयोजकका अनुसार कार्यक्रममा गीत-संगीत, खाद्य स्टल र विभिन्न गेमिङ जोनहरूको व्यवस्था हुनेछ। पीएमएनसीले नेपाली पब्जी मोबाइल र सम्पूर्ण ईस्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।






