Skip to main content

अमेजनले ग्याजेटहरूको मूल्य वृद्धि गर्‍यो, अन्य क्षेत्रमा कस्तो प्रभाव पर्नेछ?

कृत्रिम बौद्धिकता विकास र डाटा सेन्टरहरूको माग वृद्धिका कारण विश्वव्यापी मेमोरी चिप्सको गम्भीर अभाव (मेमोरी क्रन्च) देखा परेको छ, जसले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्तामा प्रभाव पार्न थालेको छ। यसै समस्याका कारण अमेजनले आफ्ना विभिन्न लोकप्रिय इलेक्ट्रोनिक्स उपकरणहरूको मूल्यमा ठूलो वृद्धि गरेको छ। इको स्पिकर, फायर टिभी, किन्डल ई–रिडर र एरो राउटरजस्ता उपकरणहरूको मूल्य रातारात वृद्धि गरी केही मूल्य ६० प्रतिशतसम्म बढाइएका छन्। मूल्य वृद्धिले सबैभन्दा बढी असर अमेजनको लोकप्रिय ग्याजेट इको डटमा परेको छ। यसको मूल्य ४९.९९ अमेरिकी डलरबाट ६० प्रतिशतले वृद्धि भई सिधै ७९.९९ डलर पुगेको छ, जसले ३० डलरको अतिरिक्त भार थपेको छ।

त्यसैगरी, १६ जीबी क्षमताको किन्डल ई–रिडरको मूल्य पनि ४० डलरले बढेर १४९.९९ डलर पुगेको छ। स्ट्रिमिङ स्टिकदेखि लिएर घरमा प्रयोग हुने नेटवर्क उपकरणसम्म मूल्य वृद्धिको प्रभाव परेको छ। अमेजनले आफ्ना सामग्रीहरूको लागत बढी हुँदा थप भर्ने अवस्थामा नहुँदा यो मूल्य वृद्धि गर्न बाध्य भएको जनाएको छ। यो समस्या केवल अमेजनमा सीमित छैन। एप्पलले पनि मेमोरी चिप्सको बढ्दो लागतलाई कारण देखाउँदै आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ भने माइक्रोसफ्टले एक्सबक्स हार्डवेयरमा यस्तै कदम चाल्दैछ। विशेष गरी क्लाउड कम्पनीहरू र ठूला डाटा सेन्टरहरूले एआई पूर्वाधारका लागि विशाल मात्रामा मेमोरी चिप्स माग गरेपछि बजारमा आपूर्ति संकट गहिरिएको छ।

जेपी मोर्गन ग्लोबल रिसर्चको रिपोर्ट अनुसार, सन् २०२४ को सुरुदेखि २०२६ को अन्त्यसम्म डीआरएम (डाइनेमिक रेन्डम एक्सेस मेमोरी) को मूल्य ४०० प्रतिशत वा त्यसभन्दा बढीले बढ्न सक्ने अनुमान छ। यसको सबैभन्दा ठूलो प्रभाव सस्तो मूल्यका बजेट ग्याजेटहरूमा पर्ने छ। अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीका अनुसार, यसले विश्वव्यापी रूपमा पर्सनल कम्प्युटर र स्मार्टफोनहरूको आपूर्ति घटाएको छ र कम मूल्यका स्मार्टफोनहरूको बिक्रीमा ठूलो गिरावट आएको छ। माइक्रोसफ्ट, अमेजन र अन्य ठूला क्लाउड प्रदायकहरूले दीर्घकालीन सम्झौतामार्फत मूल्य जोखिम कम गरे पनि सर्वसाधारण उपभोक्ताले मूल्य वृद्धिलाई जोगिन कुनै विकल्प छैन। बजार विश्लेषकहरूका अनुसार यो आपूर्ति संकट र महँगो हुने अवस्था सन् २०२७ अघि सहज हुने संभावना छैन, जुन विभिन्न प्रविधि सञ्चार माध्यमहरूले पनि औंल्याएका छन्।