
समाचार संक्षेप समीक्षा पश्चात तयार पारिएको। एमएडब्ल्यू वृद्धिले आइतबार नेपाली बजारमा चिनियाँ चांगान कम्पनीको प्रिमियम सब-ब्रान्ड नेभोको विद्युतीय एसयूभी ‘नेभो क्यू०५’ बिक्री सुरु गरेको छ। कम्पनीले नेभो क्यू०५ का म्याक्स र अल्ट्रा भेरियन्टहरूको मूल्य क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। गाडीमा १२० किलोवाट मोटर, ५२ किलोवाट आवर ब्याट्री, ४६२ किलोमिटर दूरी तय गर्ने क्षमता, १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम र ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी छ। ७ भदौ, काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी ‘नेभो क्यू०५’ नेपाली बजारमा बिक्रीमा आएको छ। नेपालका लागि चांगानका आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले ‘दीपल नेभो क्यू०५’ सार्वजनिक गरेको हो। आज (आइतबार) आयोजित एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरिएको थियो। एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेभो क्यू०५ सँगै एमएडब्ल्यू नेपाल सबैभन्दा ठूलो अटोमोबाइल सेगमेन्टमा प्रवेश गर्न लागेको जानकारी दिए। चीनमा लगातार चार महिनासम्म नम्बर एक स्थान हासिल गरेको यो गाडीले नेपालमा पनि प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड कायम गर्ने विश्वास व्यक्त गरे। उनले भने, “गाडी बेच्नु मात्रै हाम्रो लक्ष्य होइन, ग्राहकहरूको अनुहारमा मुस्कान देख्नु हाम्रो पहिलो प्राथमिकता हो।” “हाम्रो लागि गाडी बिक्री मात्र ठूलो कुरा होइन, ग्राहकहरूको अनुहारमा खुशी देख्नु र उनीहरूलाई बिक्री पछिको उत्कृष्ट सेवा दिनु हाम्रो पहिलो प्राथमिकता हो। सात करोडभन्दा बढीको स्पेयर पार्ट स्टक र २४ घण्टा चल्ने हेल्पलाइनमार्फत हामी ग्राहकलाई सधैं सुरक्षित महसुस गराउन चाहन्छौं,” अग्रवालले भने।






