Skip to main content

हिमालयन आर्ट फेस्टिभल २०२६ का तस्वीरहरू

७ भदौ, काठमाडौं । १५२ भन्दा बढी समकालीन नेपाली कलाकारहरूको सहभागितामा हिमालयन आर्ट फेस्टिभल २०२६ आयोजना भैरहेको छ । यो फेस्टिभल नेपाल कला परिषद्को हलमा यसको नवौं संस्करणको रूपमा चलाइँदैछ । ई-आर्ट्स नेपालको आयोजनामा शुरू भएको यस प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । प्रदर्शनीमा चित्रकला, मूर्तिकला, पौवा लगायत विभिन्न शैलीका कला सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । यस प्रदर्शनीले नेपाली कला क्षेत्रमा संस्थागत र व्यावसायिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन् ।
यस्तै, यस प्रदर्शनीले नेपाली कलाका फरक-फरक अभ्यासहरू बुझ्न, अवलोकन गर्न र कलाकारहरूसँग प्रत्यक्ष सम्बन्ध बनाउन एक उपयुक्त मञ्चको रूपमा काम गर्नेछ । प्रदर्शनीको अबसरमा सन् १९७० देखि नेपाली कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएका वरिष्ठ कलाकार गोपाल वैद्यलाई सम्मान गरिनेछ । उहाँलाई ‘अनर टु द मेस्ट्रो’ सम्मान प्रदान गरिने आयोजकहरूले जानकारी दिएका छन् । प्रदर्शनीका साथै आर्ट विथ पोएट्री, रञ्जन लिपी कार्यशाला जस्ता विविध गतिविधिहरू समेत आयोजना गरिनेछन् । यो फेस्टिभल ११ भदौ सम्म सञ्चालन हुने छ । तस्वीर : चन्द्र बहादुर आले