Skip to main content

नेपालमै निर्मित ‘यात्री पी-२’ सार्वजनिक, १५७ किलोमिटर दूरी तय गर्ने क्षमता सहित

नेपाली ब्रान्ड यात्रीले नेपालमै डिजाइन र निर्माण गरेको नयाँ विद्युत स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ। पी-२ तीनवटा ब्याट्री विकल्पमा उपलब्ध छ, जसमा ५.२ किलोवाट आवर क्षमताको मोडेल पूर्ण चार्जमा १५७ किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ। सिप्रदी यात्रीले देशभरिका ३५ स्थानमा डीसी चार्जरहरू स्थापना गर्ने र पी-२ उत्पादनका लागि करिब ६० करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ। ८ भदौ, काठमाडौं।

सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा निर्माण गरेको पी-२ विभिन्न ब्याट्री विकल्पसहित बजारमा ल्याएको हो। पी-२ तीनवटा फरक ब्याट्री क्षमतामा उपलब्ध छ। कम्पनीका अनुसार ग्राहकले ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवर क्षमताका ब्याट्रीमध्ये चयन गर्न सक्नेछन्। सबभन्दा ठूलो ५.२ किलोवाट आवर क्षमताको ब्याट्री भएको पी-२ ले पूर्ण चार्जमा एक पटकमा १५७ किलोमिटर सम्म दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडेलले ११२ किलोमिटर र ३ किलोवाट आवर क्षमताको मोडेलले ९० किलोमिटर सम्म दूरी तय गर्ने कम्पनीको भनाइ छ।

सिप्रदी यात्रीले स्कुटरका लागि देशभरि ३५ स्थानमा डीसी चार्जरहरू स्थापना गर्ने जनाएको छ। पी-२ ले ३.३ किलोवाट क्षमतामा डीसी चार्जर सपोर्ट गर्नेछ। यो सुविधाले लामो दूरीमा स्कुटर प्रयोग गर्ने ग्राहकलाई चार्जिङ सेवा पुग्नेछ भन्ने कम्पनीको अपेक्षा छ। एन्ड्रोइड अटो र एप्पल कारप्ले यात्री पी-२ केवल विद्युत स्कुटर मात्रै नभएर स्मार्ट फिचरहरू सहित बजारमा आएको छ। यसमा रियल टाइम इनर्जी मिटर र स्मार्ट डिस्प्ले पनि राखिएको छ।

पी-२ बजारमा ल्याउनुअघि नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूमा परीक्षण गरिएको थियो। तराई, पहाडी र चुनौतीपूर्ण सडकहरूमा परीक्षण गरिएको कम्पनीले जनाएको छ। जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ लगायतका क्षेत्रमा स्कुटर परीक्षण गरिएको थियो। सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको साझेदारीमा विकास भएको पी-२ लाई कम्पनीले नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको विद्युत स्कुटरको रूपमा प्रस्तुत गरेको छ। यससँगै नेपालमा आफ्नै डिजाइन र प्रविधिमा आधारित विद्युत दुईपाङ्ग्रे सवारी उत्पादन गर्ने प्रयास अझ व्यावसायिक रूप लिएको छ। पी-२ उत्पादनका लागि सिप्रदी यात्रीले प्लान्टमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार युनिटसम्म उत्पादन गर्ने योजना अघि सार्दैछ।

तस्बिरहरू : शंकर गिरी