Skip to main content

इरानविरुद्ध ‘सबैभन्दा कडा’ अमेरिकी प्रतिबन्ध, यी देशहरूमा पनि पर्नेछ प्रभाव

अमेरिकाले इरानमाथि ‘अपरेसन इकोनोमिक आइसोलेसन’ सुरु गर्दै डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र सिपिङलाई नयाँ प्रतिबन्ध सूचीमा राखेको छ। अमेरिकाले करिब ६० व्यक्ति, कम्पनी र पानीजहाजमाथि प्रतिबन्ध लगाउँदै इरानसँग काम गर्ने विदेशी बैंक, कम्पनी र बिचौलियामाथि दबाब बढाउने जनाएको छ। इरानको तेल निर्यात, वैदेशिक व्यापार र मुद्रामा युद्ध र प्रतिबन्धको असर बढिरहेको छ, र जुलाईमा महँगी ६६ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ। ९ भदौ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउन नयाँ अभियान सुरु गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अभूतपूर्व’ कदम भनेका छन्। उनले विदेशमा इरानका ‘आर्थिक बाटाहरू बन्द गर्नु’ यसको मुख्य उद्देश्य रहेको बताए। यस अभियानअन्तर्गत अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धलाई अझ कडा बनाएको छ। दर्जनौँ व्यक्ति, कम्पनी र पानीजहाजहरूको नाम प्रतिबन्धको सूचीमा थपिएको छ। अमेरिकाले इरानसँग अझै पनि काम गरिरहेका विदेशी बैंक, कम्पनी र बिचौलियाहरूमाथि दबाब बढाउने जनाएको छ। यसमा इरानको व्यापार र आम्दानीमा सहयोगी मानिने केही गतिविधिहरू रोक्नका लागि समयसीमा तोक्ने कुरा पनि समावेश छ। अमेरिकाले यस अभियानलाई ‘अपरेसन इकोनोमिक आइसोलेसन’ अर्थात् आर्थिक रूपमा एक्ल्याउने नीति भनेको छ। अमेरिकाका अनुसार, उसले इरानसँग कुनै पनि प्रकारको व्यापार गर्ने सबै देशहरूलाई एक्ल्याइदिनेछ। यो अभियान यस्तो समयमा सुरु भएको छ, जब दुई देशबीचको युद्धविराम अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ। महिनौँ लामो सैन्य सङ्घर्षले इरानको अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्‍याएको छ। तेल निर्यात र वैदेशिक व्यापारमा अवरोध आएको छ। महँगी अत्यधिक बढेको छ भने राष्ट्रिय मुद्राको अवमूल्यन भएको छ।